१६ बैशाख २०८१, आईतवार

प्रेम दिवसमा रानिमहलको ब्रान्डिङ हुने

rani mahal palpa

तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताज महल भनेर चिनिने रानि महलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ ।

फागुन २ गते मनाइने दिवसका दिन रानिमहलमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा २५ विशेष जोडिले रातो गुलाबको फुल साटासाट गर्नेछन् ।

वि.सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटी पौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस– २ मा अवस्थित रानी महल दरबार नेपालकै ताज महलका रूपमा काली गण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशालीमै रहेको छ । रानी महल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

शिवको मन्दिरमा जोडिले सिक्का साटेर आफ्नो जोडी अमर बनाउने बर माग्ने कार्यक्रम रहेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिए । रानी तेजकुमारीले दैनिक पूजा गर्ने यो मन्दिरमा सिक्का साटे सम्बन्ध युगौँ युग रहने उनको भनाइ छ ।

प्रचार प्रसारको अभावमा ऐतिहासिक रानिमहल ओझेलमा परेकोले तानसेन नगरपालिकासँग सहकार्य गरी यसलाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न लागिएको नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले जानकारी दिए । उनले २५ जोडिलाई रातो कार्पेटमा राखेर रातो गुलाबको फुल साटासाट गर्ने गरी सहभागी गरिने बताए । पन्तका अनुसार सहभागी विशेष २५ जोडिलाई बिहानको खाजा ,दिउसोको खाजा,साँझको खाना सहित आवासको पनि व्यवस्था गरिने छ ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले प्रेमको प्रतीकको रूपमा रहेको रानि महललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको बताए । ज्ञवालीका अनुसार पर्यटन प्रवर्धन गर्दै रानिमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...