४ बैशाख २०८१, मंगलवार

नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १६ पुग्यो

corona nepal

नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।

अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्रालयका अनुसार अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको पुष्टि गरिएको हो ।

गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा उनी बसेका थिए ।

मालारानी क्वरेण्टीनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

उनकाे मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको गाैतमले जानकारी दिए ।

गएको जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको अर्घाखाँचीमै अन्त्येष्टि गरिने भएको छ ।

यसअघि कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक, ललितपुरमा एक, अर्घाखाँचीमा एक, दैलेखमा एक, बाँकेमा एक, गुल्मीमा एक, बारामा एक, बाजुरामा एक, दोलखामा एक, पाल्पामा एक, सुर्खेतमा एक, कैलालीमा एक, डोल्पामा एक र स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।