
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा सरकारको न्यूनतम साझा कार्यक्रमको प्रसंग निकालेपछि प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नियमापत्ति जनाएका छन् ।
आइतबारको बैठकमा अध्यक्ष ओलीले साझा न्यूनतम कार्यक्रममा आधारमा सत्ता गठबन्धको प्राथमिकता सुनाउदै गर्दा खतिवडाले नियमापत्ति जनाएका हुन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को २६ अनुसार नियमापत्ति जनाउँदै खतिवडाले भने, ‘पूर्वप्रधानमन्त्रीले न्यूनतम साझा कार्यक्रमका बारेमा बोल्नुभयो । संसद चलेदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार, रुप, रंङ देख्न पाएका छैनौं । कुनै बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस् भनेर अनुरोध गर्न चाहान्छु ।’
खतिवडाले नियमाआपत्ति जनाएको विषयलाई ओलीले सटिक जवाफ दिए । उनले सभामुखलाई जानकारी दिँदै भने, भने, ‘नेपाली कांग्रेस कहिलेकाहीँ प्रधानमन्त्रीभन्दा पहिले बोल्न पाउनुपर्छ भनेर आएको दृष्टान्त छ । यस्तो उहाँहरू गरिरहनु हुन्छ ।’
त्यसपछि पनि ओलीले न्यूनतम साझा कार्यक्रमका आधारका गठबन्धनको प्राथामिकता सुनाउने कार्यलाई निरन्तरता दिए ।