२४ बैशाख २०८१, सोमबार

‘रवि लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटे त्यसको जिम्मेवारी उनैले लिनुपर्छ’

FNJ rabi

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लामिछानेले त्यसरी धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको भनाइ छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।’ लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् सभापति लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट रहेको बताइएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने महासंघले जनाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ ।

FNJ 1675606511

    सम्बन्धित समाचार...