
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई अझै फराकिलो बनाएर धेरै जनतामाझ लैजाने बताएका छन् । स्वास्थ्य बिमामार्फत जनताले अहिले १ लाखसम्मको उपचार खर्च पाइरहेका छन् ।
‘क्यान्सरलगायत जटिल रोगका बिरामीका लागि पनि उपचार खर्च पुग्नेगरी बिमाको दायरा बढाउने योजनामा छौं । त्यस्तै धेरै जनतामाझ यस कार्यक्रमलाई पुर्याउने विषयमा छलफल चलिरहेको छ,’ अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले भने,‘ विपि कोइराला क्यान्सर अस्पताल देशकै एउटा गौरब हो । यसले धेरै मानिसलाई प्राण दिने काम गरेको छ । पूर्वदेखि पश्चिमसम्मका मानिसको भरोसा यससँग छ । कोभिडको समयमा पनि निकै काम गर्नुभयो । त्यसका लागि धन्यवाद् भन्छु ।’
उनले थपे, ‘अहिले धेरै बिरामीहरुलाई उपचार पद्धतीमा जोड्नसक्ने अवस्था बनेको छ । रेडियोथेरापी सेवा धेरैलाई दिनसक्ने स्थितीमा अस्पताल पुगेको छ । अझै एउटा वा दुईवटा उपकरण थप्न सकियो भने बिरामीहरुलाई थप सहज हुन्छ । उपकरणको अभावमा बिरामीले उपचारका लागि दुई तीन महिनासम्म कुर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि मन्त्रालयबाट नितीगत रुपमा भूमिका खेल्छौं ।’
स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने पक्षहरु धेरै रहेपनि बजेट अति न्युन भएकाले सिमित स्रोत र साधनलाई नै परिचालन गरेर काम गर्नुपर्ने उनले बताए । ‘किड्नीको बिरामीको आफ्नै समस्या छ, मुटुरोगीको समस्या छ, क्यान्सरतिर आउँदा पनि यस्तै समस्या छ । अझै पनि गुणस्तरीय सेवा सबैलाई पुर्याउने कुरा चुनौतीपूर्ण छ । यसतर्फ मन्त्रालयको ध्यान जान्छ । दूरदराजका जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउने विषय मन्त्रालयको प्राथमिकतामा छ,’ उनले भने,‘ जनशक्ति र उपकरण वृद्धि गर्दै लैजाने र न्युनतम स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण छ । तर, यसलाई समाधान गर्दै जानेछौं ।’
उनले अस्पतालका सबै कर्मचारीहरुलाई पारदर्शी भएर काम गर्दै जनताको भरोसा र विश्वास जित्न आग्रह गरे । ‘नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्ने अठोटका साथ म आएको छु । यस सबैको साथ आवश्यक छ,’ उनले भने,‘गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा उपलब्ध भएन भने नेपालको भविष्य हुँदैन । स्वास्थ्य क्षत्रमा जनताले प्रत्यक्ष अनुभूती गर्नेगरी सुधारको प्रयास गर्नेछौं ।’




