५ जेष्ठ २०८१, शनिबार

नेपाली युवा रञ्जितकुमार पालले जिते ८२ करोड रुपैयाँको चिठ्ठा युएईमा

Bigticket

कतारमा कार्यरत नेपाली युवा रञ्जितकुमार पालले ८२ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् ।

युएईको अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रमा उनले दुई करोड ३० लाख (२३ मिलियन) दिराम राशीको चिठ्ठा जितेका हुन् । उक्त रकम हालको नेपाली विनिमय दरअनुसार करिब ८२ करोड रुपैयाँ हुनेछ ।

शुक्रबार राति चिठ्ठाको नतिजा सार्वजनिक गरिएको हो । पालले गत जनवरी १६ मा २३२९३६ नम्बरको टिकट खरिद गरेका थिए ।

कतारको राजधानी दोहामा विगत सात वर्षदेखि उनी एक मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रहेका छन् ।

दुई छोरा बाबु उनी पुरस्कार जितेपछि निक्कै खुशी छन् । पाँच र दश वर्ष उमेरका उनका दुई छोरा छन् ।

उनले उक्त रकम नेपालमा रहेको आफ्नो परिवारका लागि खर्च गर्ने बताएका छन् । उनले पछिल्लो १५ महिनादेखि २० जना साथीहरुसँग मिलेर बिग टिकट खरिद गर्दै आएका थिए । उनले यसलाई जारी राख्ने समेत बताएका छन् ।

रोजगारीको शिलशिलामा युएई, कतार पुगेका नेपालीहरुले बेलाबेला यस किसिमको चिठ्ठा कार्यक्रममार्फत पुरस्कार जित्दै आएका छन् ।

२०७० सालमा नेपाली नागरिक डिल्लीराम पराजुलीले कतार ड्युटी फ्रिको डलर मिलिएनार चिठ्ठा अन्तर्गत नेपाली रुपैयाँ करिब ८ करोड ७० लाख जितेका थिए ।

    सम्बन्धित समाचार...