२१ बैशाख २०८१, शुक्रबार

चितवनका जिल्ला सभापति धर्मेन्द्र सापकोटाले भ्रम फैलाए, चुनावमा सघाएनन् : रास्वपा

Rabi Lamichhane

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन जिल्ला समितिका सभापतिबाट राजीनामा दिएका धर्मेन्द्र सापकोटाले पार्टीपंक्तिमा भ्रम फैलाएको आरोप लगाएको छ । जिल्ला सभापतिबाट राजीनामा दिएपछि सापकोटाले विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।

‘निर्वाचनमा निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरी पार्टीको हितविपरीत अनावश्यक अन्तर्वार्ता दिँदै हिँड्नुभो । जसका कारणले चितवन क्षेत्र नम्बर ३ को मत परिणाम समेतमा नकारात्मक प्रभाव पारेको थियो । साथै उहाँ चुनावी अभियानमा संलग्न हुनुभएन भने पार्टी कार्यालय नगई चुपचाप बसी असहयोगसमेत गर्नुभएको थियो,’ विज्ञप्तिमा छ ।

ढकालले निर्वाचनपपछि पनि आफ्ना क्षेत्रका मुद्दा तथा संगठनलाई बलियो बनाउनतर्फ बेवास्ता गरी पार्टीको विधानबमोजिमका हैसियतभन्दा बाहिरका गतिविधिको नेतृत्वसमेत गरेकाले पुस १७ गते स्पष्टीकरण सोधेको विज्ञप्तिमा उल्लेख गरेका छन् । २७ गते राजीनामा दिएकाले पार्टीले सदर गरेको विज्ञप्तिमा लेखिएको छ । ‘मिति २०७९।०९।२० गते सापकोटाले पार्टी कार्यालयमा नै आई आफ्नो स्पष्टिकरण पेस गर्नुभएको थियो र उहाले पेस गर्नुभएको स्पष्टीकरणका विषयमा पार्टीले निर्णय गर्नुअगावै मिति २०७९।०९।२७ गते उहाँले पार्टीबाट राजीनामा दिनुभयो जसलाई केन्द्रीय समितिको मिति २०७९।१०।०८ को बैठकले सदर गरेको थियो,’ विज्ञप्तिमा छ ।

विज्ञप्तिको पूर्ण पाठ :

मितिः २०७९।१०।१९

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला समितिका सभापति रहनुभएका धर्मेन्द्र सापकोटाले पार्टी पंक्ति तथा नेपाली जनतामाझ पार्टीका सम्बन्धमा भ्रम छर्ने किसिमले सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भई सत्य तथ्य व्यहोरा सरोकारवाला सबैमा अवगत गराउन यो विज्ञप्ती जारी गरिएको छ ।

सापकोटाले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ का बखत निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरी पार्टीको हित विपरित अनावश्यक अन्तर्वार्ता दिंदै हिंड्नुभयो, जसका कारणले चितवन क्षेत्र नं. ३ को मत परिणाम समेतमा नकारात्मक प्रभाव पारेको थियो । साथै उहाँ चुनावी अभियानमा संलग्न हुनुभएन भने पार्टी कार्यालय नगई चुपचाप बसीे असहयोग समेत गर्नुभएको थियोे । उहाँले निर्वाचन पश्चात् पनि आफ्नो क्षेत्रका स्थानीय मुद्दाहरु तथा संगठनलाई बलियो बनाउन तर्फ ध्यान दिन वेवास्ता गरी पार्टीको विधान बमोजिमका हैसियतभन्दा बाहिरका गतिविधिको नेतृत्व समेत गरेकाले मिति २०७९।०९।१७ गते स्पष्टिकरण सोधिनुका साथै यस विषयमा आवश्यक छानबिन, अनुसन्धान तथा अन्तिम निक्र्यौल नभएसम्म पदीय हैसियतले कुनै पनि गतिविधि, कार्यमा संलग्न नहुन समेत निर्देशन दिइएको थियो ।

मिति २०७९।०९।२० गते सापकोटाले पार्टी कार्यालयमा नै आई आफ्नो स्पष्टिकरण पेस गर्नुभएको थियो र उहँले पेस गर्नुभएको स्पष्टिकरणका विषयमा पार्टीले निर्णय गर्नुअगावै मिति २०७९।०९।२७ गते उहाँले पार्टीबाट राजीनामा दिनुभयो जसलाई केन्द्रीय समितिको मिति २०७९।१०।०८ को बैठकले सदर गरेको थियो । अतः सापकोटाले सञ्चारमाध्यममा अन्तर्वार्तामा दिएको सूचना असत्य तथा भ्रमपूर्ण रहेको जानकारी गराउँदछौ ।

डा. मुकुल ढकाल

प्रवक्ता तथा महामन्त्री

RSP1019 1675337616

    सम्बन्धित समाचार...