२३ बैशाख २०८१, आईतवार

सहमति जुटेन दाहाल-ओलीबीच गृहमन्त्री नियुक्तिमा

Dahal Oli

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिको उम्मेदवार तय र गृहमन्त्री नियुक्तिबारे भएको वार्ता विनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दाहाल-ओलीबीच राष्ट्रपति र गृहमन्त्रीको विषयमा छलफल भए पनि दुवै नेता आ-आफ्नै अडानमा रहँदा सहमति हुन नसकेको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दुई अध्यक्षबीचको छलफलमा ओलीले सत्तासाझेदार दलको यसअघिको सहमतिअनुसारै गृहमन्त्रीको जिम्मेवारी रवि लामिछानेलाई दिनुपर्ने अडान दोहोर्‍याएका थिए ।

तर प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आइनसकेको र स्वार्थ बाझिने मन्त्रालय भएकाले लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिन नसकिने भन्दै अस्वीकार गरेका थिए । दाहाल र ओलीसँगको पटक-पटकको भेटमा लामिछानेले सत्ता साझेदार दलको पुरानै सहमतिअनुसार आफूले गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने र त्यसबाट आउने अप्ठ्यारोको सामना आफैंले गर्ने जिकिर गरिरहेका छन् ।

नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि लामिछाने पदमुक्त भएपछि गृहमन्त्री कसलाई बनाउने भन्नेमा प्रधानमन्त्री दाहाल अनिर्णीत छन् । लामिछाने पदमा फर्कन कोसिस गरिरहँदा एमाले अध्यक्ष ओलीले उनैलाई नियुक्त गर्न दबाब दिइरहेका छन् । लामिछानेले भने गृह आफूले नपाए सरकारबाटै बाहिरिने बताउँदै आएका छन् ।

त्यसैगरी, गठबन्धन दल कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्नेमा पनि एकठाउँमा उभिन सकेका छैनन् । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले कांग्रेसहितको सहमतिमा राष्ट्रपतिको साझा उम्मेदवारको प्रस्ताव गरेपछि गठबन्धनमा सहमति हुन नसकेको हो ।