२१ बैशाख २०८१, शुक्रबार

नेपाल भ्रष्टाचार सूचकांकमा ११०औँ स्थानमा

tranes

नेपालमा भ्रष्टाचार गम्भीर समस्याकै रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको प्रतिवेदनले जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२२ मा नेपालको स्थान केही सुधार भएपनि समस्या कायमै रहेको उल्लेख छ ।

भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा ३४ अंकका साथ नेपाल ११० औँ स्थानमा परेको छ । यसअघि सन् २०२१ मा नेपाल एक सय अंकमा ३३ अंक पाएर ११७ औँ स्थानमा रहेको थियो । पछिल्लो एक वर्षमा नेपाल सात स्थान तल झरेको छ । सन् २०१२ नेपाल भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा २७ अंक पाएर १३९ औँ स्थानमा थियो ।

नेपालको अंकमा केही सुधार भएपनि भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायम रहेको उक्त सूचकांकले देखाएको छ ।

दक्षिणी छिमेकी मुलुक भारत ४० अंक पाएर ८५ औँ स्थानमा छ भने उत्तरी छिमेकी चीन ४५ अंकका साथ ६५ औँ स्थानमा छ ।

दक्षिण एसियालीमा भुटान सबैभन्दा कम भ्रष्टाचार हुनेमा परेको छ । ६८ अंक पाएर भुटान २५ औँ स्थानमा छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ । अफगानिस्तानले २४ अंक पाएको छ ।

यस वर्षको सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया सूचीकृत भएको छ । सोमालियाले १२ अंक मात्रै पाएको छ ।

यस सूचकांकमा ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकमा पर्दछ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार यस वर्ष औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको छ । 

ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा सीपीआई २०२२ सम्बन्धी वक्तव्यमा भ्रष्टाचारविरुद्ध विश्वभरनै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट्र सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिक वितृष्णा द्वन्दमा रुपान्तरण हुने उल्लेख गरिएको छ । 

एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई बेवास्ता नै गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा भनिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सरकारहरुलाई भ्रष्टाचार विरोधी प्रतिबद्धतालाई प्राथमिकता दिन, सूचनाको हक कायम राख्न तथा निजी प्रभाव कम गर्दै भ्रष्टाचार र त्यसबाट उत्पन्न हुने द्वन्दबाट मुक्त हुन आग्रह गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टी.आई) नेपाल भ्रष्टाचारविरुद्ध हालै नेपाल सरकारबाट भएको प्रतिबद्धताको कार्यान्वयन, स्वार्थको द्वन्दको सम्बोधन, दण्डहिनताको अन्त्य, कानुनको पालना र नियन्त्रणमुखी निकायहरुको प्रभावकारितामार्फत सुशासनको अभिवृद्धि गर्न सम्बद्ध पक्षहरुको ध्यानाकर्षणका लागि अपिल गरेको छ । यस्ता प्रयास सार्थक भए भविष्यमा यस सूचकांकमा नेपालको अवस्थामा सुधार हुने अपेक्षा गर्न सकिने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार...