२१ बैशाख २०८१, शुक्रबार

मुलकलाई पूर्ण खोपयुक्त बनाऊ: मन्त्री गिरी

padam giri 1

स्वास्थ्य सेवालाई सबै जनताको पहुँचमा पुर्‍याउनेछु

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्उने प्रयासमा सरकार लागिरहेको बताएका छन् । ‘स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन् । गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन् । एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नुपरेको छ,’ कोभिड १९ खोप, नियमित खोप तथा दादुरी–रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले आयोजना गरेको राष्ट्रिय समिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । मन्त्री गिरीले सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताए ।

‘जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसुस गराउनेगरी हामी भविष्यमा आउँछौं,’ उनले भने । मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताए । ‘खोपका सन्दर्भमा आम जनता र समुदायको धारणा के छ भन्ने विषयमा राम्रोसँग अध्ययन गर्नुप¥यो । ती समुदायमा हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधि साथीहरुलाई ठूलो रुपमा परिचालन गर्ने ठोस योजना बनाउनुपर्छ,’ उनले भने,‘प्रत्येक घर र व्यक्तिसम्म यो अभियानलाई लैजान हामी चुक्न हुँदैन ।’

हरेक बच्चाको अभिलेख डिजिटल प्रणालीभित्र राख्नुपर्ने उनले बताए । ‘जन्मेको बच्चाको अभिलेख अस्पतालमा हुने भइहाल्यो । तर, अझै पनि गाउँघरमै सुत्केरी गराउने चलन पनि छ । जसकारण, बच्चाहरु खोप लगाउन छुटेको अवस्था छ । नेपालमा हरेक बच्चा जन्मेको सूचना स्वास्थ्य प्रणालीमा हुनुपर्यो,’ उनले भने,‘ ‘ऋण तिरेन भने बैंकले बारम्बार फोन गर्छ । किनकी, त्यहाँ डिजिटल प्रणालीमा सबै अभिलेख हुन्छ । पहिलो खोप लगाएको एउटा बच्चाले दोस्रो खोप लगाएन भने तपाईको बच्चा किन आएन भनेर अभिभावकलाई फोन गर्न के गाह्रो छ ?’

उनले खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा संघ–संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताए । ‘स्थानीय तह २० वर्षसम्म कर्मचारीले चलाएको अवस्था थियो । अहिले त जनप्रतिनिधि छन् । नगर/गाउँसभा बस्छ । खोपको एजेन्डा पनि त्यहाँ राख्न लगाउनुस् न,’ सरोकारवालाहरुलाई उनले भने, ‘हाम्रा समूहहरु छन्, युवा समूह, विभिन्न संघ संस्था छन् । त्यहाँ समन्वय र छलफल गर्ने गरौं, मुलकलाई पूर्ण खोपयुक्त बनाउन लागौं । खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनले बताए ।

326458244 506812868151263 3525054057128798316 n

    सम्बन्धित समाचार...