१९ बैशाख २०८१, बुधबार

अहिलेको गठबन्धन टुटेर नयाँ गठबन्धन बन्ने चर्चा: के प्रचण्डले ओलीलाई धोका दिन लागेका हुन ?

oli prachanda
फाइल फोटो

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिन थालेको चर्चा छ । राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको गठबन्धन टुटेर नयाँ गठबन्धन बन्ने चर्चा भैरहेको बेलामा यस्तो संकेत मिलेको छ । २६ पुषमा संसद्मा विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसको पनि मत पाएका थिए ।

कांग्रेसको पनि विश्वासको मत पाएपछि दाहालले राष्ट्रपतिमा समझदारी कायम गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिका कारण एमाले नेतृत्व बिच्किएको छ । १० पुषमा प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवासमा जानुअघि ओली निवासमा एमाले–माओवादीबीच पावर सेयरिङमा सहमति भएको थियो । जसअनुसार अढाई वर्ष सरकारको नेतृत्व दाहालले गर्ने त्यसपछि ओलीले सरकारको नेतृत्व गर्ने, सभामुखमा पनि दुई दलले आलोपाले गर्ने समझदारी बनेको थियो । सोही सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका छन् । उता, एमालेबाट सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् ।

अब राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति एमालेले पाउने सहमति भएको बताईएको छ । तर, कतिपय एमाले नेताहरुले पनि राष्ट्रपतिबारे ठोस वा लिखित सहमति नभएको टिप्पणी गरेका छन् । प्रचण्डले कांग्रेसलाई पनि स्विकार्य हुने पात्रलाई राष्ट्रपति बनाउने लविङ थालेका छन् । उनी आफ्ना पूर्व सहकर्मी बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्ने तयारीमा छन् । अहिले सत्ता गठबन्धनमा रवि लामिछानेको कारण खटपट सुरु भएको छ । नागरिकता विवादबारे सर्वोच्च अदालतको फैसलाका कारण रवि सांसद र मन्त्री पदबाट मुक्त भएका छन् ।

उनले हिजोमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पूरानै नागरिकता पूनः प्राप्त गरेका छन् । उनी हिजै दलको सभापतिमा नियुक्त भएका छन् । अब उनी गृहमन्त्रालयको नेतृत्वमा फर्कने दाउमा छन् । यसको लागि एमाले अध्यक्ष ओलीले सहमति जनाएका छन् । हिजामात्रै ओली र लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्रीमा लामिछानेलाई नै नियुक्त गर्न दबाब दिएका छन् । तर, दाहाल भने कुनैपनि हालतमा लामिछाने र उनीसम्वद्ध दल रास्वपालाई गृहमन्त्रालय नदिने अडानमा छन् । प्रचण्डले आफ्नै दलबाट शक्तिबहादुर बस्नेतलाई गृहमन्त्रालयको जिम्मेवारी दिन चाहेका छन् ।

उता, एमालेका नेता गोकुल बास्कोटाले माओवादीबाट आफूहरुलाई धोका हुनसक्ने संकेत गरेका छन् । उनले आज विराटनगरमा आयोजित एक कार्यक्रममा धोकाधडीको राजनीतिले कसैलाई पनि फाइदा नपुग्ने टिप्पणी गरेका छन् । उनको यो टिप्पणी प्रधानमन्त्री दाहाललक्षित रहेको बुझिएको छ । उनले सम्बोधनको क्रममा भनेका छन्–‘सधैँ षड्यन्त्र र धोकाधडीको राजनीति गरेर हुँदैन, यसले नागरिकमा वितृष्णा उत्पन्न भई देश अकल्पनीय दुर्घटनामा पनि जान सक्छ ।’

    सम्बन्धित समाचार...