१५ बैशाख २०८१, शनिबार

इरानको सैनिक इलाका क्षेत्रमा विस्फोट

Iran 1674970497

इरानको इस्फहान सहरस्थित एक सैनिक इलाकामा शक्तिशाली विस्फोट भएको छ ।

इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार आइतबार बिहान रक्षा मन्त्रालयको हतियार निर्माण गर्ने केन्द्रमा विस्फोट भएको हो ।

विस्फोटको केही समयपछि इरानी रक्षामन्त्रालयले उक्त केन्द्रमा माइक्रो ड्रोन (सानो किसिमको मानवरहित ड्रोन) बाट आक्रमण भएको जानकारी दिएको छ । यद्यपि, उक्त हमला असफल भएको बताइएको छ ।

रक्षा मन्त्रालयका अनुसार एयर डिसेन्स सिस्टमले एक ड्रोनलाई विफल पारेको थियो भने अन्य दुई ड्रोनलाई ध्वस्त पारेको थियो । यस विस्फोटबाट कुनै पनि मानवीय क्षति नभएको मन्त्रालयको दाबी छ । मन्त्रालयले विस्फोटका कारण वर्कसपको छानामा भने क्षति पुगेको जानकारी दिएको छ ।

विस्फोटबाट हताहतीको कुनै पनि विवरण प्राप्त नभएको एक सुरक्षा अधिकारीलाई उदृत गर्दै त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।

इस्फहान सहर इरानको परमाणु कार्यक्रमका कारण परिचित छ । जहाँ युरेनियम प्रशोधन केन्द्र रहेको छ ।

विगत वर्षहरुमा पनि इरानको सैन्य इलाका, परमाणु तथा कारखाना आसपासमा थुप्रै विस्फोटका घटना भएको रोयटर्सले उल्लेख गरेको छ । जसबाट आगलागीका घटना भएको थियो ।

यसअघि सन् २०२१ मा इरानको नतान्ज परमाणु सम्बद्र्धन केन्द्रमा बिजुली आपुर्ति बन्द भएको थियो । जसका कारण उक्त केन्द्रमा उत्पादन बन्द भएको थियो । उक्त घटनामा इजरायलको हात रहेको इरानले आरोप लगाएको थियो ।

    सम्बन्धित समाचार...