१३ बैशाख २०८१, बिहीबार

‘जारी’को पोस्टर सार्वजनिकसँगै प्रर्दशन मिति घोषणा

film Jaari

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ को पोस्टर सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति आगामी वैशाख १ गतेलाई घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको हो ।

सर्वाधिक कमाउन सफल फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो । सुब्बाको यो डेब्यु निर्देशकीय फिल्म समेत हो । उनी सिरिजका लेखक समेत हुन् ।

‘कबड्डी ४’पछि मुख्य भूमिकामा दयाहाङ र मिरुनाले यो फिल्मबाट पुनरागमन गर्न लागेका हुन् । सार्वजनिक पोस्टरले प्रमुख पात्रको मनोदशालाई चित्रण गर्छ ।

फिल्मले पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई प्रस्तुत गरेको छ । अर्कैसँग भागेकी पत्नीलाई फिर्ता ल्याउन मुख्य पुरुष चरित्रले गर्ने संघर्षको कथा पेस गर्छ ।

फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल लगाएतको अभिनय रहेको छ । यो फिल्म पाँचथरका रमणीय स्थानमा छायांकन भएको हो ।

फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

त्यसो त, २०८० सालको बैशाख १ अर्थात् नयाँ वर्ष नयाँलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गर्न यतिबेला ठूला ब्यानरबीच प्रतिस्पर्धा चलेको छ ।

करिब ६ महिना अगाडि नै झरना थापाले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’लाई आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने घोषणा गरेकी थिइन् । तर, यो फिल्मको छायांकन नै सुरु नभएकाले नयाँ वर्षमा प्रदर्शन हुने सम्भावना न्यून छ । आगामी बैशाख १ गतेलाई ‘नाईं नभन्नू ल ६’ र ‘प्रसाद २’ले पनि प्रदर्शन मिति घोषणा गरेका छन् । अब यो मितिमा फिल्म ‘जारी’ पनि थपिएको हो ।

    सम्बन्धित समाचार...