१५ चैत्र २०८०, बिहीबार

गृहमन्त्री रवि लामिछाने एकपछि अर्को विवाद र आलोचनामा फसे

rabi lamichanne
फाइल फोटो

पुराना दल र तिनका नेताबाट दिक्क बनेका आम नागरिकको नजरमा नयाँ जोश बोकेका नेताहरु परे । तर, अहिले तिनै नेताहरुको शैलीले नागरिकमा निराशा थपेको छ ।

नेपाली राजनीतिमा भर्खरै उदायका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने एकपछि अर्को विवाद र आलोचनामा फसेका छन् । कहिले विज्ञप्ती मार्फत प्रहरीले टेरेन भन्नेदेखि उपप्रधानमन्त्री लामिछानेले आफैंले गरेका प्रतिवद्धता विपरित काम गर्न थालेका छन् ।

उपप्रधानमन्त्रीको संख्या, शक्ति केन्द्रको छत्रछायाँमा रहेका फरार सूचीका व्यक्तिलाई पक्राउ गर्न नसक्नु, ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ जोडिएका व्यक्तिलाई मन्त्री बनाउनु उपप्रधानमन्त्री लामिछानेको कमजोरी देखिएका छन् ।

पहिलो प्रसंग–
गृह मन्त्रालयले माघ ६ गते अदालतबाट दोषी ठहर भइ फरार रहेका एमालेबाट निर्वाचित महोत्तरी–१ का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न भन्दै एक विज्ञप्ती जारी गर्यो । सभामुख निर्वाचनको दिन अर्थात् माघ ५ गतेको संसद बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले कोइरीले मत दिन पाउने नपाउने बारे निर्णय गरेर मात्रै संसद बैठक सुरु गर्न माग गरे ।

त्यसको भोलिपल्ट गृहमन्त्रालयले निकालेको विज्ञप्तीमा गृहमन्त्री लामिछानेले नेपाल प्रहरीलाई ती सांसदलाई पक्राउ गर्न दिएको मौखिक निर्देशनको पालना नगरेको गम्भीर आरोप तेर्साइएको छ । गृह मन्त्रालयले निकालेको यो विज्ञप्तीमा सांसद खतिवडाले माघ ७ गतेको संसद बैठकमा गृहमन्त्रीले बाल केटाकेटीपनको प्रदर्शन गरेको भन्दै आलोचना गरे । सांसद खतिवडाले मात्रै होइन, कानूनका जानकार र पूर्व प्रहरी कार्मचारीले पनि यसमा आपत्ती जनाएका छन् । यसले प्रहरी र गृह मन्त्रालयबीचको दुरी बढ्ने उनीहरुको भनाइ छ ।

दोस्रो प्रसंग–
अहिलेको मन्त्रिपरिषद्मा ४ जना उपप्रधानमन्त्री बनाइएपछि आलोचना भइरहेको छ । माघ ७ गतेको संसद् बैठकपछि सञ्चरकर्मीसँगको कुराकानीमा गृहमन्त्री लामिछानेले उपप्रधानमन्त्री हटाउन आफूले गठबन्धनभित्र प्रस्ताव गरेको दावी गरे । ‘उपप्रधानमन्त्री’ एक अलंकार मात्रै भएकाले राज्यलाई कुनै भार नपर्ने उनको दावी छ ।

गठबन्धनमा भागबण्डा गर्दा पार्टीलाई सन्तुष्ट बनाउन उपप्रधानन्त्री दिएको भन्ने उनको आशय थियो । यो अभिव्यक्तिले पनि गृहमन्त्रीलाई आलोचनाको सिकार बनाएको छ । सञ्चारकर्मी हुँदा उनले नै तास खेल्न चार–चार जना उपप्रधानमन्त्री राखिएको भन्दै तत्कालीन सरकारको आलोचना गर्ने गर्थे ।

तेस्रो प्रसंग–
पिर्के सलामीले पनि गृहमन्त्रीलाई आलोचना र विवादमा तानेको छ । पुस ११ गते पद तथा गोपनीयताको सपथ लिएका उपप्रधान एवम् गृहमन्त्री लामिछाने पुस १४ गते सरकारी निवासमा गृहप्रवेश गरे । गृह प्रवेशको क्रममा रातो पिर्कामाथि उभिएर लिइँदै आएको पिर्के सलामी लिन अस्वीकार गरेपछि गृहमन्त्रीले स्याबासी बटुले । तर, त्यो स्याबासी धेरै दिन टिकेन । पुस १४ गते पिर्के सलामी अस्वीकार गरेका गृहमन्त्री लामिछानेले पुस १६ गते सशस्त्र प्रहरीको कार्यक्रममा पिर्कामाथि चढेर सलामी लिए । अनि आलोचनाको सिकार बने।

चौथो प्रसंग–
माघ ५ गते नै संसद भवनबाहिर प्रमाण पुराए श्रम मन्त्रीलाई कारबाही गर्ने गृहमन्त्रीले बताए । उनकै पार्टीबाट प्रतिनिधित्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल मेनपावर कम्पनी सञ्चालक रहेको र स्वार्थ बाझिने गरि अर्याललाई मन्त्रालय दिएको भन्दै टिकाटिप्पणी भएका थिए ।

मेनपावर कम्पनीमा रहेको जानकारी पाए उनलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेले उद्घोष गरेका थिए । सञ्चारमाध्यमले मन्त्री अर्याल मेनपावर कम्पनीमा आवद्ध रहेको प्रमाण नै सार्वजनिक गरेका छन् । तर, गृहमन्त्री लामिछानेले अर्याललाई हटाएका छैन ।

माथि उल्लेखित प्रसंग मध्ये पहिलो प्रसंगले लामिछानेलाई मात्रै होइन्, गृहमन्त्री पदमाथि मात्रै गम्भीर प्रश्न उठाएको छ । अनि सत्यम् सेवम् सुरक्षणम् मुल मन्त्र बोकेको नेपाल प्रहरी माथि पनि । यसरी आफ्नो जिम्मेवारीभन्दा बाहिर रहेर अभिव्यक्ति र विज्ञप्ती निकाल्दा संविधानप्रद्त मन्त्री पदको काम, कर्तव्य र जिम्मेवारीलाई नै ठेस पुग्ने त होइन् ? गम्भीर प्रश्न उनको यी क्रियाकलापले उठाएको छ ।