१५ बैशाख २०८१, शनिबार

पार्टीको भूमिकालाई लिएर कोइराला समूहमा छलफल

290034026 422123803165167 1949448843831853637 n
फाइल फोटो

नेपाली कांग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भूमिकामाथि प्रश्न उठाइएको छ ।

आईतबार काठमाडौंको बत्तीसपुतलीमा बसेको संस्थापनइतर समूहको भेलामा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनका बारेमा प्रश्न उठेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले कांग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल भएको जानकारी दिए ।

उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरुमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल भएको बताए । कांग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो कि प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यक्ता रहेको उनले बताए ।

‘कांग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरु छैनन् भन्ने कुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ । फिनी हराएको थाहा छैन गहुँका गेडा गन्छस् ? कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि के पाउँछु भनेर हिँड्ने, त्यही हो कांग्रेसको इतिहास ? त्यसका लागि कांग्रेस लडेको हो ? यी तमाम प्रश्नहरुको बारेमा जवाफ दिनको लागि बैठक बसेका हौँ ।’ उनले भने ।

सांसद भण्डारीले बैठकमा कांग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरुलाई अपमान गर्न, असहज बनाउनका लागि बैठक नबसेको स्पष्ट पारे ।

कोइराला समूहको भेला पर्सि मंगलबार बिहान ८ बजे फेरि बस्ने नेता रामकृष्ण यादवले जानकारी दिए ।

    सम्बन्धित समाचार...