२ जेष्ठ २०८१, बुधबार

‘गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन’

325349368 2578152589045144 8736846985087193001 n.jpg

प्रतिनिधि सभाको आज बसिरहेको बैठकमा नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको र पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा एक इन्च बाहिर नजाने बताएका छन्। उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन। त्यसको एउटा प्रक्रिया छ। त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु।’

बैठकमा बोल्दै कांग्रेसका सांसद्‍ खतिवडाले एमालेबाट सांसद्‍मा निर्वाचित लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ध्यानाकर्षण गराएका थिए।

सांसद्‍ महतो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन्।

२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो। त्यसयता उनी फरारको सूचीमा छन्।

सभामुख चयनका लागि आज प्रतिनिधि सभाको बैठक बसिरहेको छ। सभामुखका लागि सत्ता गठबन्धनबाट देवराज घिमिरे उम्मेद्‍वार रहेका छन् भने कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेद्‍वार रहेका छन्।

    सम्बन्धित समाचार...