४ जेष्ठ २०८१, शुक्रबार

सर्वोच्चमा रविको लिखित जवाफ- नेपाली नागरिकता त्यागेकै छैन

rabi lamichanne
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले आफ्नो नागरिकताको विषयमा सर्वोच्च अदालतलाई लिखित जवाफ दिएका छन् । उनले आफूले नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दाबीसहित रिट खारेजीको माग गरेका छन् ।

गृहमन्त्री लामिछानेले लिखित जवाफमा नागरिकता ऐन, २०६३ को दफा ११ ले नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आएर बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ व्यवस्थाबमोजिम आफू नेपाली नागरिक नै रहेको दाबी गरेका हुन् ।

उनले नागरिकता त्यागेको निस्सासहित पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने भनी उल्लेख गरेको पाइन्छ । लिखित जवाफमा गृहमन्त्री लामिछानेले नेपाली नागरिकता त्यागी आफू अमेरिका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधिअनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएको झुट्टा विवरण दिई निवेदन गर्न सक्ने अवस्था नै नआउने उल्लेख गरेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षबाट पनि सर्वोच्चमा लिखित जवाफ दिएका छन् । जसमा गृहमन्त्री लामिछानेले जवाफमा आफ्नो पार्टीको लोकप्रियता बढ्दै गएको बेला पार्टी अध्यक्षको नागकिताको विषय उठाई, पार्टीको लोकप्रियतालाई निवेदकहरुले विषयान्तर गर्न खोजेको उल्लेख गरेका छन् । लिखित जवाफमा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त तथा प्रचलित कानुनसमेतको मूल्यांकन गरी राजनीतिक उद्देश्यबाट प्रेरित रहेको विपक्षी निवेदकको निवेदन पत्र खारेज गर्नसमेत माग गरिएको छ ।

    सम्बन्धित समाचार...