
काठमाडौंबाट पोखराको लागि विहान १०:३५ बजे उडेको यती एयरको ९ एन–एनसी एटीआर ७२ विमान दुर्घटना भएको छ। जहाजका क्याप्टेन कमल केसी थिए भने को-पाइलट अञ्जु खतिवडा थिइन्।
४५ वर्षीया सहचालक अञ्जुको निधनपछि विराटनगर महानगरपालिका–५ निवासी खतिवडाको घर र आसपासका स्थानीय स्तब्ध छन् ।
एस हुन्चु र ओए मगर परिचारिका थिए। आजको उडानको मुख्य भूमिकामा अञ्जु थिइन्। उनलाई पाइलट कमलले गाइड गरिरहेका थिए। पाइलट बन्नका लागि प्रशिक्षकसँग कम्तिमा एकसय घण्टा उडान भरेको हुनुपर्छ। आजको उडान सफल भएको भए अञ्जु पाइलट बन्ने थिइन्। प्रशिक्षणका रुपमा अञ्जुको यो नै अन्तिम उडान थियो। अञ्जुले पाइलट बन्नका लागि सबै विमानस्थलमा सफल उडान गरेकी थिइन्।
करिब १५ दिन अघिमात्रै उडान सुरुभएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आज मौसमको पनि कुनै समस्या थिएन्। बिहान काठमाडौं–पोखरा सफल उडान गरेको जहाज फेरि काठमाडौं आएर पोखराको लागि उडेको थियो। त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएअनुसार सो जहाजले अवतरणको अनुमतिसमेत पाइसकेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको उनले बताए।
१६ वर्षअघि यतिकै जहाजमा बितेका थिए अञ्जुका श्रीमान्, आज उनी आफै
अञ्जुले २०६३ सालमा यती एयरकै विमान दुर्घटनामा श्रीमान दीपक पोखेललाईसमेत गुमाएकी थिइन्। पोखरेल पनि उक्त विमानको को- पाइलट थिए। विमान दुर्घटनामा श्रीमान गुमाएकी अञ्जुले पाइलट बन्न अमेरिका गएर पढेकी थिइन् ।
आजभन्दा १६ वर्षअघि यती एयरलाइन्सकै विमान दुर्घटनामा परी अञ्जु खतिवडाका श्रीमान् दीपक पोखरेलको निधन भएको थियो ।
नेपालगञ्जबाट सुर्खेतहुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएईक्यू सी विमान उडेको २६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा उनका श्रीमान् पोखरेलको निधन भएको थियो । पोखरेल पनि दुर्घटना भएको उक्त विमानको को-पाइलट थिए ।
त्यो दुर्घटनामा ६ यात्रुसहित पाइलट किरण मल्ल, को-पाइलट पोखरेल र क्याबिन क्रु दीपक शेरचनको निधनभएको थियो । को-पाइलट श्रीमान्को मृत्यु भएपछि अञ्जुले पाइलट तालिम लिएकी थिइन् ।
त्यो घटनाको १६ वर्षपछि यती एयरलाइन्सकै विमान दुर्घटनामा अञ्जुले ज्यान गुमाएकी छन् । को-पाइलट दम्पतीले १६ वर्षको अवधिमा एउटै कम्पनीको विमान दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
यस्तै को-पाइलट अञ्जु खतिवडा आजको उडानपछि क्याप्टेनमा पदोन्नती हुने तयारीमा थिइन् । संयोग भनौं वा दुर्भाग्य दीपक र अञ्जु एउटै कम्पनीको विमान दुर्घटनामा परे । दुवै जना को–पाइलटको भूमिकामा मात्रै रहे ।