
आइतबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेको यति एयरलाइन्सको विमान दुर्घटना भयो । चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनाको खबरले सिंगै देश शोकमग्न बनेको छ ।
पोखराको मौसम खुलेको अवस्थामा भएको यो दुर्घटनाको प्राविधिक एवं अन्य कारण के होला, त्यो विस्तारै खुल्दै जाला । तर, विमान दुर्घटनाका केही प्रारम्भिक सूचना र तथ्यहरुलाई यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
विमान दुर्घटनाका केही तथ्यहरु
–यति एयर प्रालिको एनवाइटी ६९१, एनए–एएनसी विमान दुर्घटनामा परेको हो ।
–विमान आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट उडेको थियो । विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा अन्तिम पटक सम्पर्कमा आएको थियो । काठमाडौं पोखराको उडान समय २५ मिनेट हो । यो हिसाबले विमान अवतरण हुन ७ मिनेट मात्र बाँकी थियो ।
– विमानमा ५३ जना नेपाली र १५ जना विदेशी सहित ६८ यात्रु थिए भने ४ जना चालक दलका सदस्यसहित जम्मा ७२ जना सवार थिए । विमानमा ३ जना बालबालिकासमेत थिए ।
– विमानमा ५ भारतीय, ४ रसियन र २ कोरियनका साथै एक/एकजना अष्ट्रेलियन, फ्रान्सेली, अर्जेन्टिनी र कोरियन नागरिक सवार थिए ।
– विमान पोखरा अन्तरराष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोंचमा मानव वस्ती नजिकै दुर्घटनामा परेको हो ।
– विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो देखिएको थियो । दमकलले निभाउने प्रयास गर्दा पनि नसकेपछि जलेर नष्ट भयो ।
–घटनास्थलमा उद्धारका लागि ९एनएएलएक्स र ९एनएएलए दुईवटा हेलिकोप्टर परिचालन गरियो ।
–काठमाडौं र पोखराबाट थप उद्धारका लागि हेलिकोप्टरहरु तैनाथ गरिएका थिए भने दिउँसो १ बजेसम्म सुरक्षाकर्मीले २४ यात्रुको शव निकालेका थिए भने दिनभर नै खोजी र उद्धार जारी रह्यो ।
–यात्रुहरुको खोजी र उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र विमानस्थलस्थित रेस्क्यु एण्ड फायर फायरिङ टीम परिचालित भयो ।
– विमान दुर्घटना स्थलमा स्थानीयबासीको भीड लागेको देखिन्थ्यो । तर, आगो लागेको ठाउँमा उद्धार गर्न सक्ने अवस्था थिएन ।
– विमान दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा पुगेर घटनाबारे जानकारी लिनुका साथै तत्काल उद्धारमा खटिन निर्देशन दिए ।
– विमान घुर्टटनालगत्तै दिउँसो साढे १ बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइयो ।
–काठमाडौंमा रहेका यात्रुका आफन्तहरुले पोखरा जान चाहे पनि व्यवस्था नगरिएको भन्दै एयरलाइन्सप्रति असन्तुष्टि जनाएका छन् ।