२३ बैशाख २०८१, आईतवार

प्रतिनिधिसभा सभामुखको निर्वाचन माघ ५ गते

nepal parliament building

प्रतिनिधिसभाका सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुँदै छ । संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरुले सभामुखका लागि कसलाई अघि सार्ने भन्नेमा छलफल गरिरहेका छन् । सरकार संसदप्रति जवाफदेही हुनुपर्छ । त्यसका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुन्छ । तर विगतका कतिपय सभामुख भने दलीय निकटताका आधारमा सरकारप्रति नरम र कठोर हुने गरेको आरोप लाग्ने गरेको छ ।

सभामुखको निर्वाचन प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ । सोहीअनुसार पुस २६ गते बसेको बैठकले सभामुखको निर्वाचन माघ ५ गते गर्ने गरी मिति तोकेको हो । ३ गते निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ भने ४ गते मनोनय दर्ता गर्ने कार्यसूची छ । दुई वा दुईभन्दा बढी मनोनयन दर्ता भएमा ५ गतेको बैठकमा मतविभाजन गरी सभामुख चयन गरिनेछ ।

प्रत्यक्ष वा समानुपातिक जुनसुकै निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सभामुखको उम्मेदवार बन्न सक्छन् । जुनसुकै राजनीतिक दलबाट निर्वाचित भए पनि संसदमा सभामुखको भूमिका सबै दलको साझा, तटस्थ र मर्यादित हुनुपर्छ । तर विगतमा सभामुखहरुले सदनमा निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लाग्ने गरेको छ ।

यसअघि अन्तरिम व्यवस्थापिका, संविधानसभा तथा प्रतिनिधिसभाको नेतृत्व गरेका सुवासचन्द्र नेम्बाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा तथा अग्नि सापकोटामाथि पनि निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लागेको छ । अब चुनिने नयाँ सभामुखले आफूलाई दलको साझा र सिंगो सदनको नेता भएको विश्वास दिलाउन सक्नुपर्छ ।

    सम्बन्धित समाचार...