१५ बैशाख २०८१, शनिबार

‘नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ ।’

Arthamantri

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को एजेन्डा अगाडि बढाउन केन्द्रित रहेको जनाएका छन् । भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

विश्वव्यापी रूपमा आर्थिक मन्दीको संकेत देखिराखेको भन्दै पौडेलले विश्वव्यापी रूपमा अर्थतन्त्रमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहलको जरुरी रहेको पनि प्रतिक्रिया दिए । उनले नेपालले द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्दै उनले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण-दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको जनाउँदै उनले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद समेत दिए ।

अर्थमन्त्री पौडेलका अनुसार नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै छ । नेपालमा वित्तीय सेवाहरूमा पहुँच फराकिलो बनाउनका लागि विद्युतीय वित्तीय सेवाहरूको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रमहरू लागु गरिएको उनले जानकारी दिए । ‘मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुन्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ ।’

समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बिया लगायत १५ देशका अर्थमन्त्रीहरूको सहभागिता थियो ।

    सम्बन्धित समाचार...