५ जेष्ठ २०८१, शनिबार

सिंगो हाउसले समर्थन गर्छ भनेर हिजै यहीँ भनेको थिएँ : प्रधानमन्त्री दाहाल

prachanda
फाइल फोटो

संसद्‌मा विश्वासको मत लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अनुमानअनुसार नेपाली कांग्रेसले समर्थन गरेको प्रतिक्रिया दिएका छन् ।

संसद् भवनबाहिर पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले कांग्रेसको समर्थनपछि आफूले थप जिम्मेवार र चुनौती महसुस गरेको जनाए । उनले भने, ‘हिजो तपाईंहरूले भोलि के हुन्छ ? भन्नुभएको थियो । मैले सिंगो हाउसको समर्थनमा हुन्छ भनेको थिएँ । यो कुरा यथार्थमा परिणत भएको छ । ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको छु ।’

कांग्रेससँग कुनै सहमति र भागबन्डाको विषयमा छलफल नभएको उनको भनाइ छ । कांग्रेसलाई केही दिने नदिने ? के सहमति भएको हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘होइन होइन केही भएको छैन ।’

उनले आगामी दिनमा आफ्ना प्रतिबद्धता प्रभावकारी रुपले अगाडि बढाउने आश्वासनसमेत दिएका छन् ।

    सम्बन्धित समाचार...