२७ बैशाख २०८१, बिहीबार

ब्राजिलमा संसद् भवन र सर्वोच्च अदालतमा आक्रमणपछि व्यापक धरपकड

Brazil1 1673317243

ब्राजिलमा पूर्वराष्ट्रपति जाएर बोल्सोनारोका समर्थकले संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा आक्रमण गरेको घटनापछि प्रहरीले व्यापक धरपकड गरेको छ । आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीले करिब १५ सय मानिसलाई गिरफ्तार गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

घटनाको अर्कोदिन अर्थात सोमबार बिहानै सेनाले राजधानी ब्रासिलियामा बोल्सोनारो समर्थकले खडा गरेको अस्थायी शिविर भत्काइ दिएको छ । नेपालको समय ब्राजिलभन्दा पौने नौ घण्टा अगाडि छ । कानुनमन्त्री फ्लेभियो डिनोले प्रदर्शनकारीलाई राजधानीमा ओसार्न प्रयोग गरिएका करिब ४० वटा बस नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

यता सर्वोच्च अदालतले ब्रासिलियाका गभर्नर इबानिज रोचालाई दंगा रोक्न नसकेको भन्दै ९० दिनका लागि पदबाट बर्खास्त गरेको छ । संसद भवनमा भएको आक्रमणका क्रममा भौतिक क्षतिका साथै महत्वपूर्ण एवम् बहुमूल्य कलाकृतिहरुमा क्षति पुगेको छ ।

देशको सबैभन्दा ठूलो सहर साओ पाउलोमा हजारौँ मानिसले लोकतान्त्रिक मूल्य मान्यताको समर्थनमा व्यापक प्रदर्शन गरेका छन् ।

राष्ट्रपति लुला दा सिल्भाले उक्त घटनालाई आतंककारी दंगा भन्दै आक्रमणको भर्त्सना गरेका छन् । साथै षडयन्त्रकारीहरुलाई दण्डित गरिने दृढता व्यक्त गरेका छन् ।

ब्राजिलका हिंसात्मक गतिविधि भइरहँदा अमेरिकाको फ्लोरिडामा रहेका पूर्वराष्ट्रपति बोल्सोनारो भने पेट दुखेको भन्दै अस्पताल भर्ना भएका छन् । हिंसात्मक आक्रमणको करिब ६ घण्टापछि ट्वीट गर्दै बोल्सोनारोले घटनाको भर्त्सना गर्नुका साथै दंगाकारीलाई आफूले उक्साएको भन्ने आरोपको खण्डन गरेका छन् ।

चरम दक्षिणपन्थी नेता बोल्सोनारोका प्रतिद्वन्द्वी तथा वामपन्थी नेता लुलाले देशको नयाँ राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरेको एक हप्तापछि नै यो घटना भएको हो ।

गत अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनमा लुलासँग हारेपनि बोल्सोनारोले अहिलेसम्म आफ्नो पराजय स्वीकार गरेका छैनन् । निर्वाचनमा धाँधली भएको भन्दै उनका समर्थकहरुले हिंसात्मक विरोध प्रदर्शन गर्दै आएका छन् ।

    सम्बन्धित समाचार...