१४ बैशाख २०८१, शुक्रबार

स्पेनिस लिग ला लिगामा एट्लेटिकोलाई हराउँदै बार्साको तीन अंकको अग्रता

atletico madrid barcelona

स्पेनिस लिग ला लिगामा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १ – ० गोलले हराएको छ । यो जितपछि शीर्ष स्थानको बार्साले तालिकामा स्पष्ट तीन अंकको अग्रता बनाएको छ।

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा ओस्मान डेम्बेलेले गोल गर्दै पाहुना टोली बार्साको अग्रता बनाएका थिए । उनले खेलको २२ औँ मिनेटमा गाभीले दिएको पासमा गोल गरेका हुन् । त्यसपछि एट्लेटिकोका लागि एन्टोइन ग्रिजमनले गोल गर्न प्रयास गर्दा रोनाल्ड अराउजोले विफल बनाइदिए ।

दोस्रो पटक डेम्बेलेले गरेको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो । निर्धारित समयपछि दुवै टोली १० खेलाडीमा झरेका थिए ।

म्यानचेस्टर सिटीका पूर्व खेलाडीहरु स्टेफन साभिच र फेरान टोरेस झगडामा उत्रिएपछि दुवैले सोझै रातो कार्ड पाएका हुन् । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र बार्साले जित सुनिश्चित गर्‍यो ।

यो जितपछि बार्साको १६ खेलबाट ४१ अंक भएको छ । गत शनिबार साविक विजेता रियाल मड्रिडले भिल्ला रियालसँग पराजय व्यहोर्दाको फाइदा जाभीको टोली बार्सालाई भएको छ ।

रियाल १६ खेलबाट ३८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यता एट्लेटिको मड्रिड पाचौँ स्थानमा झरेको छ । प्रशिक्षक डियागो सिमोनीले ला लिगामा चार सय १८ औँ खेल पूरा गरे । स्पेनिस शीर्ष डिभिजनको एकै क्लबमा यति लामो समय काम गर्ने सिमोनी पहिलो प्रशिक्षक हुन् । तर १६ खेलमा उनको क्लबले पाचौँ पराजय व्यहोरेको छ । उपाधि होडबाट बाहिरिसकेको एट्लेटिको बार्सा भन्दा १४ अंकले पछि छ ।