२० बैशाख २०८१, बिहीबार

गण्डकीमा अधिकारी र वाग्मतीमा जमकट्टेल मुख्यमन्त्री बन्दै

khag katel

वाग्मती र गण्डकीमा आज मुख्यमन्त्रीका लागि दाबी पेस गरिँदैछ । दुवै प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय आज अपराह्न ४ बजे सकिँदैछ ।

सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार वाग्मती प्रदेशमा माओवादी केन्द्र र गण्डकीमा नेकपा एमालेका संसदीय दलका नेता मुख्यमन्त्री बन्दैछन् ।

वाग्मतीमा माओवादीका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्री बन्नेछन् । सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार वाग्मती प्रदेश माओवादीलाई परेपछि उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

दलहरुबीच आइतबार साँझ भएको भागबन्डाअनुसार वाग्मतीमा आलोपालो सरकार चलाउने सहमति भएको छ । सुरुको साढे दुई वर्ष माओवादीका जमकट्टेलले सरकारको नेतृत्व गर्ने छन् भने त्यसपछि एमालेका जगन्नाथ थपलियाको पालो आउनेछ । वाग्मतीमा सभामुख राप्रपा र उपसभामुख एमालेले पाएका छन् ।

यस प्रदेशको प्रदेशसभामा कांग्रेसको ३७ सिट छ भने एमालेसँग २७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छ । कुन १ सय १० सदस्यीय वाग्मती प्रदेशमा सत्ता गठबन्धनको पक्षमा ६१ सांसद छन् ।

यस्तै, गण्डकी प्रदेशले पनि आजै नयाँ मुख्यमन्त्री पाउँदैछ । गण्डकीमा भने एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन् । सत्ता साझेदार दलबीच भएको भागबन्डामा गण्डकी प्रदेश एमालेको भागमा परेको हो । यस प्रदेशमा भने पाँच वर्षको पुरै कार्यकाल एमालेले मुख्यमन्त्री चलाउने छ ।

सोही सहमतिअनुसार गण्डकी प्रदेशका एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारीले मुख्यमन्त्रीमा दाबी गर्दैछन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज अपराह्न ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

अधिकारीलाई माओवादी र राप्रपाले समर्थन गरेका छन् । यस प्रदेशमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् । बहुमतको सरकार गठनका लागि आवश्यक ३१ सिटमा गठबन्धनले ३२ सिट पुर्‍याएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ सिटसहितको सबैभन्दा ठूलो दल कांग्रेस भने प्रतिपक्षमा बस्नेछ । स्वतन्त्रबाट निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) भने एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । अहिलेसम्म उनले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

    सम्बन्धित समाचार...