५ जेष्ठ २०८१, शनिबार

निगमले घटायो इन्धनको मूल्य

petrol

 सरकारले आइतबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल/डिजल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ घटाएको छ ।

विगत लामो समयदेखि नोक्सानीमा सञ्चालित हुँदै आएको निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण सोही आधारमा पेट्रोल, डिजेल र हवाई इन्धनमा मूल्य घटाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो ।

निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७८, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर रु एक सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायम छ ।

प्रधानमन्त्री दाहालले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुभएको थियो । वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ ।

Petrol 1673188813

    सम्बन्धित समाचार...