८ बैशाख २०८१, शनिबार

रियाद पुगे क्रिस्टियानो रोनाल्डो

CRRonaldo

पोर्चुगिच फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन् । रोनाल्डोलाई साउदी क्लब अल नासरले दुई वर्षका लागि अनुबन्धन गरेको हो ।

अल नासरले ३७ वर्षीय रोनाल्डोलाई आज औपचारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिइएको छ । त्यसअघि रोनाल्डोको मेडिकल जाँच हुनेछ ।

अल नासरले विज्ञप्ति जारी गर्दै रोनाल्डो र क्लब बीच सन् २०२५ सम्मका लागि सम्झौता भएको बताएको थियो । तर कति रकममा भित्राइएको हो भन्नेबारे अहिलेसम्म क्लबले खुलाएको छैन । तर उनी २ सय मिलियन युरोभन्दा माथिको रकममा अल नासर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पाँच पटकका बालोन डिुओर विजेता रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका हुन् ।

युनाइटेड र प्रशिक्षक एरिक टेन हाखबारे आलोचनात्मक टिप्पणी गर्दै टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि रोनाल्डो आलोचित बनेका थिए । त्यसपछि क्लब र रोनाल्डोबीच सहमतिमा सम्झौता भंग भएको थियो ।

नौ पटकको साउदी प्रो लिग विजेता अल नासरले रोनाल्डोको आगमनले अर्को घरेलु लिग र पहिलो एएफसी एसियन च्याम्पियनसिप उपाधि जित्ने अपेक्षा गरेको छ ।

रोनाल्डोले सुरुवाती दुई खेल भने गुमाउने छन् । गत अप्रिलमा प्रिमियर लिगअन्तर्गत एभर्टनविरुद्धको खेलका क्रममा रोनाल्डोले समर्थकमाथि फोन फालेका थिए । सोही कारण उनीमाथि दुई खेलको प्रतिबन्ध छ ।

किन तात्यो एसियाली फुटबलको माहोल ?

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको अल नासरसँग सम्झौता गरेसँगै एसियाली फुटबलको माहोल तातेको छ । उनको आगमनले साउदीको शीर्ष डिभिजन प्रो-लिगको मात्र भ्याल्यु बढेको छैन, सिंगो एसियाली फुटबलले अब नयाँ बाटो समाउने आंकलन सुरु भएको छ ।

प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता भंग भएपछि नै रोनाल्डोको खेल जीवन र अगामी गन्तव्यबारे धेरै टिकाटिप्पणी भइरहेको थिए । क्लबविहीन रोनाल्डो र उनको देशले विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । धेरैले अब उनको खेल जीवन उत्तरार्धमा पुगेको अनुमान पनि लगाए । टिम क्वार्टर फाइनलसम्म पुग्दा रोनाल्डो भने लगातार ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउन सफल थिए । विश्वकप सकिएको महिना दिन नबित्दै पाँचपटक ब्यालोन दी विजेता तथा कीर्तिमानी रोनाल्डोले साउदी क्लब अल नासरसँग वर्षको २० करोड डलर अर्थात् २६ अर्बभन्दा धेरै रुपैयाँमा सम्झौता गरे ।

रोनाल्डोको एसियामा व्यावसायिक फुटबल खेल्ने अप्रत्यासित निर्णयसँगै साउदीको शीर्ष डिभिजन फुटबल (प्रोफेसनल लिग) को चर्चा बढेको छ । क्लबले केही दिनको अन्तरालमै असंख्य समर्थक कमाएको छ भने रोनाल्डोको नाम अंकित टिसर्टको माग बढेको छ । ३७ वर्षीय यी खेलाडीको आगमनपछि क्लबले अहिलेभन्दा तेब्बर व्यावसायिक प्रगति गर्ने अनुमान छ । क्लबका फ्रेन्च प्रशिक्षक रुडी ग्रासियाले समेत एसियाली फुटबलका लागि यो महत्वपूर्ण कदम भएको टिप्पणी गरिसकेका छन् ।

साउदीमा १८ शीर्ष डिभिजन क्लब छन् । अल नासरले सन् २०१८-१९ को सिजनपछि उपाधि जित्न सकेको छैन । २०२३-२४ को एएफसी च्याम्पियनसिप खेल्न टिमलाई च्याम्पियन बन्नुपर्नेछ । एएफसी च्याम्पियन्स लिग एसियाली फुटबलको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता हो । प्रशिक्षक गार्सियाले रोनाल्डोको प्रेरणामा टिमले लिग च्याम्पियन बन्दै च्याम्पियन्स लिग खेल्ने लक्ष्य राखेको बताएका छन् । रोनाल्डोले युरोपका सबै क्लब फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । त्यसैले साउदी लिग र एएफसी च्याम्पियन्स लिगमा छनोट भए यो नौलो अनुभव हुनेछ । अल नासर ११औं चरणका खेल सकिँदा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

रोनाल्डो क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा सफलमध्येका एक खेलाडी हुन् । उनले आठ सयभन्दा धेरै गोल गरेको रेकर्ड छ । रोनाल्डोसँग उत्कृष्ट फिनिसिङ शैली तथा गोल गर्ने कला छ । उनको आगमनसँगै अल नासरले खेल शैलीमा पनि परिवर्तन गर्ने अनुमान छ ।

CRRonaldo2 1672713758