२६ बैशाख २०८१, बुधबार

बेलायतबाट फर्कन चाहने ३ सय ९१ विवरण पठाइयो

london nepali embassy

बेलायतस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहेकाको सूची सरकारलाई पठाएको छ ।

कोभिड–१९ महामारीका बेला विदेशमा अलपत्र परेका र फर्किने चाहने नेपालीहरूलाई फर्काउने सरकारी नीतिअनुसार दूतावासले बेलायतबाट नेपाल फर्किनैपर्ने अवस्था रहेका ३ सय ९१ जनाको विवरण सोमबार काठमाडौं पठाएको हो ।

लकडाउनका कारण रोकिएका र नेपाल फर्किनुपर्ने जरुरी अवस्थामा रहेकाहरूले दूतावासमा नाम दर्ता गरेका थिए । जसमध्ये विवरण बुझाएका मध्ये विभिन्न अवस्थाले प्राथमिकतामा परेकाको नाम सरकारलाई पठाइएको दूतावासका प्रवक्ता शरदराज आरनले बताए ।

दूतावासले पठाएको सूचीमा भिसाको म्याद समाप्त भएका, रोजगारी गुमाएर बिचल्लीमा परेका, अध्ययन क्रममा आएर हाल पूरा गर्न असमर्थ रहेका, तालिमका लागि आएका सरकारी कर्मचारी, सेना, चिकित्सक र अन्य कर्मचारी एवं पारिवारिक तथा अन्य कारणले नेपाल फर्किनुपर्नेलाई समेटिएको छ ।

आरनका अनुसार सबैभन्दा बढी भिसाको म्याद समाप्त भएर लामो समयदेखि रोकिइरहेका र यही महिना भिसा समाप्त हुन लागेका १ सय ५४ जना नेपाली छन् । अध्ययनका लागि आएका विद्यार्थीमध्ये हाल अध्ययन पूरा गर्न असमर्थ भएका, अध्ययन पूरा गरिसकेका तथा रोजगारी नपाएका ५० जना छन् ।

सो सूचीमा परीक्षा तथा तालिमका लागि आएका चिकित्सक र अन्य कर्मचारी २१ जना, तालिमका लागि आएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारी ५ जना छन् ।

बेलायतमा रोजगारी गुमाएर बिचल्लीमा परेका ९६ जना, रोजगारी गुमाएका माल्टा र केम्यान आइल्यान्डका क्रमशस् ५ र ५६ जना पनि सूचीमा छन् । पारिवारिक तथा अन्य कारणले फर्किनुपर्ने ६५ जना छन् ।

नेपाल सरकारले विदेशबाट नेपाल फर्किन चाहनेलाई फर्काउने नीति लिए पनि कहिलेबाट त्यो कार्यान्वयन हुन्छ भन्ने कुरा अहिल्यै यकिन भइसकेको छैन । प्रवक्ता आरनले नेपाल नाम पठाइएका नागरिकका लागि कहिलेसम्म स्वदेश फर्कने उडान व्यवस्था हुन्छ भन्न सकिने अवस्था नरहेको बताए ।