२२ बैशाख २०८१, शनिबार

सलीसल्लामा अझै अस्थायी प्रहरी चौकी स्थापना भएन

sallisallha.jpg

हुम्लाको सिमकोट-सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि प्रहरीको माथिल्लो निकायबाट स्वीकृत भए पनि हालसम्म स्थापना हुन सकेको छैन।

सो स्थानमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि भौतिक संरचना नभएको कारण प्रहरी चौकी स्थापना हुन नसकेको हो। प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले मंसिरमै सलीसल्लामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि प्रहरीको क्षेत्रीय कार्यालयबाट स्वीकृत भएर आए पनि हालसम्म स्थापना गर्न नसकिएको बताए ।

चौकीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट नभएको कारण स्वीकृत भएर आएको चौकीलाई स्थापना गर्न नसकिएको हो। यसका लागि प्रहरीले सर्केगार्ड र चंखेली गाउँपालिकालाई दुुई वा तीन कोठे भए भवन नभए हाललाई टहरो बनाइदिन आग्रह गर्दा दुुवै गाउँपालिकाले हालसम्म सुनुवाइ नगरेको भन्दै उनले सलीसल्लामा प्रहरी चौकी अति आवश्यक रहेको र संरचना अभावमा स्थापना गर्न कठिन भएको बताए।

उक्त स्थानसम्म कर्णाली करिडोर जोडिएकाले बजार विस्तार हुँदै गएको छ। प्रहरीले हाललाई दुई कोठा मात्र भए पनि दश जना प्रहरी खटाएर शान्ति–सुरक्षा प्रदान गर्न सकिने जनाएको छ।

प्रहरीले मानिसको बस्ती बाक्लिँदै गएका कारण दैनिकजसो घटना भइरहने भएको अस्थायी प्रहरी चौकी स्थापनाका लागि माथिल्लो निकायमा माग गरिएको जनाएको छ।