२३ बैशाख २०८१, आईतवार

पोखराको फोहोर सडकमै

fohor

पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर उठ्न छोडेको छ । अहिले सहरका चोकचोकमा फोहोर थुपारिएको छ । महानगरले फोहोर उठाउन छोडेको जनाएको छ । ‘फोहोर फाल्ने ठाउँमा विवाद छ । अहिले फोहोर उठ्न सकेको छैन,’ महानगरका प्रवक्ता मोति तिमिल्सीनाले भने, ‘हामी छिटै समस्या समाधान गरेर सफा गर्ने छौं ।’

पोखरा १४ मा रहेको यसअघिको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थलका कारण पुरिएको छ । अहिले महानगरपालिकाको कार्यपालिका बैठकले पोखरा ३२ लामे आहालमा अल्पकालीन ल्याण्डफिल राख्ने निर्णय गरेको छ । सोहीअनुसार सडक विस्तार गरिएको छ भने आवश्यक तयारी थालिएको छ । 

तर, स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर अहिले सडकमै थुप्रिएको हो । तिमिल्सिनाका अनुसार अझै ३–४ दिनसम्म फोहोर उठाउने अवस्था छैन । ‘केही दिन अझै लाग्छ । उता ल्याण्डफिल बनाउदै छौं । स्थानीयसँग पनि कुरा गर्नुछ,’ अघि भने । लामे आहाल बाहेक अन्य ठाउँमा पनि पोखराले फोहोर डम्प गर्ने जग्गा खोजि गरेको छ । महानगरले समयमा ल्याण्डफिलको व्यवस्था गर्न नसक्दा समस्या देखिएको हो । 

चार वर्षअघि देखि नै प्रयोगमा रहेको ल्याण्डफिल हटाउन सुझाव दिइएको थियो । तर, महानगरले वास्ता गरेन । अहिले पोखरा २१, २२ र ३३ मा दीर्घकालका लागि ल्याण्डफिल र प्लाण्ट राख्ने जग्गा खोजी गरि वातावरणीय प्रभाव मूल्यांकन गरिरहेको छ । पोखरा ३२ मा भने स्थानीयसँग सल्लाह नगरेको र वातावरणमा पर्ने असरको मुल्यांकन नगरेको गुनासो स्थानीयबासीको छ । 
 

    सम्बन्धित समाचार...