
संसद्मा सबैभन्दा ठूलो दल बनेपछि पुनः सरकारको नेतृत्व गर्न तयार भएर बसेको नेपाली कांग्रेस सत्ताको नेतृत्व मात्रै होइन सरकार निर्माणको भूमिकाबाटै एकाएक बाहिरिन पुग्यो ।
सरकारको नेतृत्वबाट एकाएक प्रतिपक्षमा पुगेपछि कांग्रेसभित्र देउवा र उनका सहयोगीहरूको भूमिकालाई लिएर विवाद सुरु भएको छ। विवाद यति बढेको छ कि, संस्थापनपक्षीय नेताहरू विभाजित छन् । कांग्रेसमा अहिले केन्द्रीय समिति बैठकदेखि विशेष महाधिवेशनसम्मको आवाज उठेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार बिहानसम्म आफू छैटौंपटक प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । तर दिउँसो २ बज्न नपाउँदै बदलिएको देशको राजनीतिले देउवालाई प्रधानमन्त्री बन्न मात्रै रोकेन, सत्ता राजनीतिबाट कांग्रेसलाई नै बाहिर राखिदियो । संसद्मा पहिलो दल हुँदा-हुँदै पनि सत्ता राजनीतिबाटै एकाएक बाहिरिनु परेपछि कांग्रेसमा नयाँ तरंग पैदा भएको छ । गठबन्धनमा भागबन्डा मिलाउन नसकेको विषयलाई लिएर देउवापक्षीय नेताहरू नै रुष्ट छन् ।
देउवाले गठबन्धनका अन्य दलसँग सहमति जुटाउन उपसभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय सदस्यहरू बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की सम्मिलित कार्यदल बनाएका थिए । यसका अलावा देउवापत्नी आरजुसहितका केही नेता पनि सक्रिय थिए । कार्यदलमा रहेर पनि सही सूचना पाउन नसकेको र सहमति जुटाउन नसकेको भन्दै देउवापक्षीय नेताहरूले कार्यदलका नेताहरुको आलोचना गरेका छन् ।
देउवापक्षीय नेताहरू नै आपसमा दोषारोपणमा उत्रिँदा शेखर कोइरालापक्षीय नेताहरूले भने सभापति देउवा पार्टी विधानविपरीत चल्न थालेको भन्दै विशेष महाधिशेनको माग गरेका छन् ।
राजनीतिक संवाद र निर्णय प्रक्रियामा देउवाले १३ जना पदाधिकारीमध्ये उपसभापति खड्काबाहेक अरु कसैलाई पनि सहभागी गराएनन् । देउवाले एक्लै पार्टी र सरकार चलाउन खोज्दा अहिलेको अवस्था आएको एकथरीको बुझाइ छ।
संघीय सत्ताबाट बाहिरिएको कांग्रेस सातै प्रदेशमा पनि प्रतिपक्षमै रहने देखिएपछि नेतृत्वको चर्को आलोचना भएको छ। संस्थापन पक्षीय नेताहरूले नै नेतृत्वको आलोचना गर्दा देउवामाथि थप दबाब पर्ने निश्चित छ ।