६ जेष्ठ २०८१, आईतवार

निर्मलालाई न्याय दिन पहल गर्छु: नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने

RabiLamichhane

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सोझै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । उनले पदभार सम्हाल्दै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको पहल गर्ने बताएका छन् ।

गृहमन्त्री लामिछानेले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिएका थिए ।

उनले गृह मन्त्रालय सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएकाले पनि आफूले यही रोजेको बताएका थिए । ‘सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृह मन्त्रालयबारे गुनासो आएको थियो । गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ हो,’ पदभारपछि सञ्चारकर्मीसँग उनले भने, ‘स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु । हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन ।’

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याबिनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको पनि स्पष्ट पारे ।

विगतमा आफूहरुले जनताको पक्षमा खबरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उनको भनाइ थियो । गृहमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरुले गरेको वाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहरुका तर्फबाट सामूहिक प्रतिबद्धता सार्वजनिक गर्ने घोषणासमेत गरे । उनले आफूहरु मन्त्री पदका लागि सरकारका नआएको पनि पटकपटक दोहोर्‍याए ।

‘हामी योभन्दा अघि पनि खबरदारी गर्ने काममा नै थियौं । सत्ताभित्र बसेर पनि संसदमा पनि, क्याबिनेटभित्र पनि एउटा प्रतिपक्षको आवश्यक्ता पर्दछ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँकतै आमजनताको पीरमर्का नबुझ्ने अथवा त्यहाँ कुनै गलत काम हुन्छ कि भनेर त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि एउटा प्रतिपक्षको भूमिका हुन्छ । यो मैले सबै दलका शीर्षस्थ नेताज्यूहरुसँग कन्फर्म गरेर मात्रै हाम्रो दल सरकारमा सहभागी भएको हो,’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘त्यसकारणले सरकारले गरेको कुरामा हो मा हो । हामीले गरेको कुरामा हो मा हो । क्याबिनेट मिनिस्टरहरुले जे निर्णय गरेँ, त्यसमा हो मा हो भन्न हामी सरकारमा सहभागी भएका होइनौं । आमजनताको मुद्दामा हामीले वाचापत्रमार्फत लेखेर वाचा गरेका छौं । ती वाचा पूरा गर्ने सामूहिक प्रतिबद्धता हामी केही दिनमै सार्वजनिक पनि गर्छौं । त्यो प्रतिबद्धताका लागि साझा नीति, कार्यक्रम बनाएर अगाडि बढ्ने सम्झौता गरेर हामी यो सरकारमा आएका हौं ।’

लामिछानेले पदका अथवा मन्त्री पद बाँडफाँडका लागि आफूहरु नआएको पनि बताए । ‘हामी एजेन्डासहित आएका छौं । जुन केहीदिनमा सार्वजनिक हुन्छ । सम्पूर्ण दलहरु बसेर हामी सार्वजनिक गर्छौं,’ उनले भने ।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानका काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो । यसअघि उपप्रधानमन्त्री लामिछानेलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगायत कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।

    सम्बन्धित समाचार...