१३ बैशाख २०८१, बिहीबार

कोशी यातायातका तत्कालीन प्रमुखसहित १७ विरूद्ध ४२ करोड मागदाबीसहित मुद्दा दायर

ciaa

यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो।

नागरिक समाज इटहरीबाट यातायात व्यवस्था कार्यालय (सवारी) कोशीमा संकलित राजस्व हिनामिना भइरहेको समेतको व्यहोरा उल्लेख गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता हुन भएको उजुरीका आधारमा छानबिन गरी विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो।

चार जना प्रमुखहरुमा नयराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया, भुपेन्द्र राईसमेत उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सेवाग्राहीबाट प्राप्त राजस्व सरकारी खातामा जम्मा नगरी हिनामिना गरेको आरोप उनीहरुमाथि छ।

तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी, तत्कालीन लेखापाल सुरेश अधिकारी, तत्कालीन लेखापाल रुद्र प्रसाद दाहाल,तत्कालीन लेखापाल अर्जुन भट्टराई, तत्कालीन लेखापाल कृष्ण प्रसाद कट्टेल, कम्प्युटर अपरेटर (करार) सुजन राईलाई प्रतिवादी बनाइएको छ। फोकस वान नेपाल प्रा.लिका कम्प्युटर अपरेटरहरु राकेश रोशन मस्र्याङ्ग्री मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुङ्गेल, दिपेन्द्र कुमार मण्डल, मैया कुमारी चापागाई, रविन कुमार विश्वासलाई अख्तियारले प्रतिवादी बनाएको छ।

२०७३÷०७४ को २०७३ चैत्रदेखि २०७४ आषाढ मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतको विवेचनासमेतका आधारमा सेवाग्राहीहबाट संकलित राजस्व प्रचलित कानून बमोजिम सम्न्धिबत राजस्व खातामा दाखिला नगराई राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्‍याएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ। 
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागसहित  विशेष अदालत  आरोपपत्र दायर गरिएको छ।

‘राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याउने’ देहायका कर्मचारीहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागदाबी गरी आइतबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख नयराज नेपाल (यातायात व्यवस्था कार्यालय (सवारी) कोशी) १ करोड ८ लाख २९ हजार ६९ रूपैयाँ माग दाबी गरिएको छ। त्यसैगरी अर्का तत्कालीन कार्यालय प्रमुख तिर्थराज लम्सालविरूद्ध ३ करोड ३० लाख ७९ हजार ३ सय ७३, तत्कालीन कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध १ करोड ३० लाख ७२ हजार १ सय ५३ रूपैयाँ र तत्कालीन कार्यालय प्रमुख भुपेन्द्र राई ५६ लाख १२ हजार ५ सय ४७ रूपैयाँ माग दाबी गरिएको छ।

त्यस्तै तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीविरूद्ध १ करोड २५ लाख ४८ हजार ६ रूपैयाँ, तत्कालीन लेखापाल सुरेश अधिकारीविरूद्ध ३ करोड ७२ लाख ४४ हजार ७ सय ५५ रूपैयाँ, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालविरूद्ध ३ करोड ४८ लाख ९३ हजार २ सय १६ रूपैयाँ, तत्कालीन लेखापाल अर्जुन भट्टराईविरुद्ध २ करोड १७ लाख ३२ हजार ४७३ रूपैयाँ, तत्कालीन लेखापाल कृष्णप्रसाद कट्टेलविरूद्ध ७३ लाख ६२ हजार ४ सय ५५ रूपैयाँ माग दाबी गरिएको छ।

त्यसैगरी कम्प्युटर अपरेटर (करार) सुजन राईविरूद्ध २२ लाख ४४ हजार ३३६ रूपैयाँ, कम्प्युटर अपरेटर राकेश रोशन मस्राङ्गी मगर (फोकस वान नेपाल प्रा.लि) विरूद्ध ५ करोड ९४ लाख ९८ हजार ९ सय ३१ रूपैयाँ मागदाबी गर्दै भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसुर गरेको स-प्रमाण पुष्‍टि भएको हुँदा न्यून दाखिला भएको राजस्व सोही ऐनको सोही दफा बमोजिम असुल उपर गरी जफत हुने भनिएको छ।

त्यसैगरी कम्प्युटर अपरेटर रमेश पौडेलविरूद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रूपैयाँ, कम्प्युटर अपरेटर भूमिराज अधिकारीविरूद्ध पनि ५ करोड ९४ लाख ९८ हजार ९३१ रूपैयाँ, कम्प्युटर अपरेटर हरिमदन ढुङ्गेलविरूद्ध ५ करोड ९४ लाख ९८ हजार ९ सय ३१, कम्प्युटर अपरेटर दिपेन्द्रकुमार मण्डलविरूद्ध १ लाख ४६ हजार ५ सय २६ रूपैयाँ, कम्प्युटर अपरेटर मैयाकुमारी चापागाईंविरूद्ध २२ लाख ४४ हजार ३ सय ३६ रूपैयाँ र कम्प्युटर अपरेटर रविन कुमार विश्वासविरूद्ध ४५ हजार ४ सय ६१ रूपैयाँ मागदाबी गरी मुद्दा दायर गरिएको छ।