६ जेष्ठ २०८१, आईतवार

आगोलागीबाट जोगाइएको मालसामान छिनभरमै गायब

318293221 1735100246904726 4876077134226140462 n.jpg

सोमबार साँझ खोटाङको केपिलासगढी गाउँपालिका–५ बाक्सिलाका व्यवसायी दीपक गुरुङको घरबाट आगलागी सुरु भयो । शान्त बजारमा एकाएक कोकोहोलो मच्चियो । बास बस्नेबेलाको आगोले क्रमशः रमेश परियार, शुभराज राई, डिल्लीकुमार श्रेष्ठ घर छिनभरमै खरानी बनायो । बजार नै ध्वस्त हुने अवस्थामा अकबर राईको घर स्काभेटर लगाएर भत्काइयो । 

कपडा, भाँडाकुँडा, कपडा, स्टेशनरी, होटल सञ्चालन भइरहेका घरहरु जलेपछि स्थानीय र प्रहरी आगो निभाउन जुटे । कोही ज्यानको बाजी लगाएर घरभित्रको पसलका सामानहरु पाखामा निकाल्न थाले । कोही खानेपानीको पाईप काटेर आगोको लप्कातिर हान्न थाले, कोही जमिन खोतलेर आगोमा माटो फ्याँक्न तल्लिन भए । तर, त्यही विपत्तीको समयमा पसलबाट बाहिर निकालिएका कतिपय सामान चोरी भएको व्यवसायी बताउँछन् ।

बाक्सिलामा पसलको सामानका प्याकेटदेखि कपडा, काँसका थालबटुका, ग्याँसको सिलिण्डर समेत चोरी भएको चर्चा छ । बाहिर निकालिएको सामानमध्ये कतिपय सामान नभेटिएको आगलागी पिडित रमेश परियार बताउँछन् । ‘हामीलाई सामानमा ध्यान गएन । सामान निकाल्नमा मात्र ध्यान गयो,’ परियारले भने, ‘सानोतिनो काटुनको सामान केही मात्रामा लगेको हुनसक्छ, पछि खोज्दाखेरी भेटिएन ।” 

आपतविपतका बेला उद्धारको नाममा कतिपय ठाउँमा चोरी भए/गरेका घटनाहरु वारे धेरैजसो जानकार छन् । बाक्सिलाको आगलागीका क्रममा पसलबाट निकालेर यत्रतत्र पाखामा छरिएका सामान चोरी हुनसक्ने आंकलन पहिल्यै गरिएको थियो । चोरी हुने आशंकामै एक जना प्रहरी जवानलाई भिडियो खिच्न लगाएको केपिलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राई बताउँछन् ।

‘हामीले धेरै ठाउँमा यस्ता घटना देखेका छौँ । सहयोग गर्ने निहुमा छ्यापछ्याप्ती चोरी गर्ने । त्यही भएर हामीले एक जना प्रहरीलाई भिडियो खिच्न लगाएका छौँ । हामी भिडियो अलवोकन गर्छौँ,’ राईले भने, ‘बिहान आएर सुन्दा तीन चारवटा सिलिण्डर र अन्य सामान चोरी भयो भन्ने सुन्यौं । हाम्रो ध्यानचैं आगोतिर भएकाले त्यतातिर ध्यान जान पाएन । तर, यसलाई खोजी गर्छौँ ।” 

खोटाङको उत्तरी क्षेत्रको प्रमुख व्यपारिक केन्द्रका रुपमा रहेको बाक्सिला बजारमा आगलागी हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ । पाँच घर पूर्णरुपमा भग्नावशेषमा परिणत भएको छ । सर्वस्व गुमेपछि आगलागी पीडितको उठिबास भएको छ । घर भग्नावशेषमा परिणत भएपछि विस्थापित परिवार आफन्तकोमा आश्रय लिइरहेका छन् । केही विस्थापितका लागि भग्नावशेष नजिकै टहरा बनाइएको छ ।

एउटा घरलाई स्काभेटर लगाएर नभत्काएको भए बाक्सिलामा थप क्षति पुग्ने थियो । आगो निभाउने क्रममा खानेपानीका पाइप काटिएका छन् । पाँच घर खण्डहर बनेपछि बाक्सिला बजारको सौन्दर्य बिग्रिएको छ । भिमा कन्ट्रक्सन प्रालिको स्काभेटर चालक पुरन घर्तीमगरले ज्यानको बाजी थापेर आगोको राप नजिक गएर घर भत्काए । अकबरको घर भत्काइएपछि आगो अन्यत्र फैलिन नपाएको उद्योग बाणिज्य संघ केपिलासगढीका अध्यक्ष शिव राईले बताए । गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । विद्युत् सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । 

उद्धारमा ग्याँस सिलिण्डर बाधक 

अहिले अधिकांश घरको भान्छामा ग्याँस सिलिण्डरको प्रयोग हुन थालेको छ । सहर बजारमा मात्र नभएर हिजोआज गाउँका भान्छा कोठामा समेत ग्याँस चुल्होको प्रयोग भइरहेको छ ।

दुई/चार थान सिलिण्डर जगेडासमेत राखिन्छ । तर, आगलागीपछिको उद्धारका क्रममा त्यही ग्याँस सिलिण्डर वाधक बनिरहेको छ । सिलिण्डर पड्किँदा आगो उछिट्याएर परपर पुर्‍याउने, आगो झन दन्किने र थप क्षती पुग्ने गरेको उद्धारकर्मीको अनुभव छ । ग्याँस सिलिण्डर पड्किने डरले उद्धारकर्मी हच्किने गरेका छन् । 

दमकलको खाँचो 

बाक्सिला बजारमा दमकल भएको भए पनि आगो नियन्त्रण गर्न सहज हुन्थ्यो । तर, गाउँपालिकासँग हालसम्म दमकलको व्यवस्था छैन । केपिलासगढी गाउँपालिकामा मात्र नभएर जिल्लाका अन्य स्थानीय तहको केन्द्रमा कम्तीमा एउटा दमकलको खाँचो देखिन्छ । तर, दमकल खरिद गरेर तयारी अवस्थामा राख्ने विषयमा स्थानीय सरकारको ध्यान पुग्न सकेको छैनन् । बरु उनीहरू कार्यकर्ता भरनपोषण गर्ने खालका योजनाको तानाबना बनाउन तल्लिन छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खरिद गरेको दमकल सुरुदेखि नै चालु अवस्थामा छैनन् । 

पीडितको सहयोगमा हातेमालो 

बाक्सिला बजारको पुःननिर्माणका लागि पालिकाबासीले अभियान थालेका छन् । गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णकुमार राईको संयोजवकत्वमा २१ सदस्यीय बाक्सिला बजार अग्निपीडित राहत संकलन समिति बनाएर आगलागी पीडितको सहयोगार्थ अभियान थालिएको छ ।

आगलागीबाट घर तथा सम्पूर्ण धन सम्पत्ति गुमाएर विस्थापित भएका पीडितको सहयोगार्थ प्राप्त हुने रकमलाई एउटै खातामा जम्मा गर्ने र वितरण गर्नेगरी समिति बनाइएको हो । उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीको अगुवाईमा मंगलबार चार लाख ५५ हजार ९५ रुपैयाँ संकलन गरेर आगलागी पीडितलाई प्रदान गरिएको छ । 

घटना लगत्तै गाउँपालिकाको बैठकले आगलागी पीडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन संघीय सरकार, प्रदेश सरकार लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ । यस्तै, गाउँपालिका अध्यक्ष समिर राईको संयोजकत्वको विपद व्यवस्थापन समितिले पनि आगलागी पीडितको राहतका लागि प्रदेश र संघीय सरकार तथा अन्य दातासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

पीडितको सहयोगार्थ गाउँपालिकाका शिक्षक तथा कर्मचारीले दुई/दुई दिनको तलब दिने निर्णय गरेका छन् । जनप्रतिनिधिले पनि कार्यपालिका बैठकबाट सहयोगको निर्णय गर्ने तयारी गरेका छन् । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई संयोजकत्वको जिल्ला विपद व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पनि आगलागी पीडितको राहत तथा क्षतिपुर्तीका लागि संघ र प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

    सम्बन्धित समाचार...