७ जेष्ठ २०८१, सोमबार

चार्ल्स शोभराज: कहाँकहाँ गरे अपराध ? कसरी भागेका थिए तिहाड जेलबाट ?

cc29de4d26763991c92e18048b1663a3

चार्ल्स शोभराज : तिहाड जेल तोड्नेदेखि लिएर निडर भएर नेपाल पस्नेसम्म

नेपालको सर्वोच्च अदालतले फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । उनको उमेरका आधारमा यो निर्णय गरिएको अदालतले जनाएको छ । नेपालमा १९ वर्षदेखि कारागारमा रहेका ७८ वर्षका शोभराज मुटु रोगबाट पीडित छन् ।

शोभराज दुई अमेरिकी पर्यटकको हत्याको आरोपमा सन् २००३ देखि नेपालको जेलमा छन् । दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो।

अदालतले उनलाई रिहा भएको १५ दिनभित्र सुपुर्दगी गर्न आदेश दिएको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न भनिएको छ।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। चार्ल्स शोभराजको जन्म ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भएको थियो । उनकी आमा भियतनामको नागरिक थिइन् र उनका बुबा भारतीय थिए। बुबाले उनलाई अपनाउन अस्वीकार गरे।

त्यतिबेला भियतनाम फ्रान्सको कब्जामा थियो । फ्रान्सेली उपनिवेशमा जन्मेका कारण उनले फ्रान्सेली नागरिकता पाएका थिए।सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।

भेष बदल्न सिपालु चार्ल्स शोभराजले पर्यटक र युवतीलाई लक्षित गर्थे । चार्ल्स शोभराजलाई भारत, थाइल्याण्ड, नेपाल, टर्की र इरानमा २० भन्दा बढी हत्याको आरोप लागेको थियो। उनलाई सिरियल किलर भनिन्छ तर अगस्ट २००४ अघि उनी त्यस्तो कुनै पनि मुद्दामा दोषी ठहरिएका थिएनन्।

एक अपराधीको रूपमा शोभराज या त सुरक्षालाई झुक्याएर जेलबाट बाहिर निस्किराखेका थिए वा अधिकारीलाई घूस दिएर जेलमा सुविधा पाइरहेका थिए ।

शोभराज भारत बाहेक अफगानिस्तान, ग्रीस र इरानको जेलबाट पनि सुरक्षा घेरा तोडेर बाहिर आएको विश्वास गरिन्छ । फ्रान्सेली पर्यटकलाई विष खुवाउने मुद्दामा उनले भारतमा झण्डै २० वर्ष जेलमा बिताएका थिए।

यो विश्वास गरिन्छ कि शोभराजले आफ्नो प्रारम्भिक जीवनमा फ्रान्समा सानातिना अपराध गरेका थिए, तर सिरियल किलर बन्ने सुरुआत सन् १९६३ मा एसिया भ्रमण गर्दा भएको थियो।

उनको आपराधिक घटनाहरू गर्ने शैली सधैं एउटै हुने विज्ञहरू बताउँछन्। उसले फ्रान्सेली र अंग्रेजी बोल्ने पर्यटकहरूसँग मित्रता गर्थे जसले ड्रग्स लिन्थे । उनले तिनीहरूको सामान लुट्थे र त्यसपछि तिनीहरूलाई मार्थे।

सन् १९७२ देखि १९८२ को बीचमा शोभराजमाथि हत्याका २० भन्दा बढी आरोप लागेका थिए । यी सबै घटनामा पीडितहरूलाई लागूऔषध खुवाइएको थियो। उनीहरूको घाँटी थिचिएको थियो । उनीहरूलाई मारिएको थियो वा जलाइएको थियो।

यो भनिन्छ कि चार्ल्सको हिंसा गर्ने शक्तिको अनुमान उनी जेलबाट भागेकोबाट गर्न सकिन्छ। उनी दुई पटक भारतको जेलबाट भागेका थिए । एक पटक तिहाड जस्तो उच्च सुरक्षा कारागारबाट पनि उनी भागेका थिए ।

सन् १९७६ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइयो तर दश वर्षपछि मात्र १९८६ मा उनी तिहाड जेलबाट भागेका थिए । शोभराजले जेलमा बर्थडे पार्टी आयोजना गरेका थिए । यसमा कैदीसँगै गार्डलाई पनि बोलाइएको थियो ।

पार्टीमा वितरण गरिएको बिस्कुट र अंगूरमा निद्राको औषधि मिसाइएको थियो । केही बेरमै शोभराज र उनीसँगै जेलबाट भागेका चार जना बाहेक सबै बेहोस भए ।

भारतीय अखबारमा आएको रिपोर्टका अनुसार शोभराज बाहिर आउनेमा यति ढुक्क थिए कि उनले जेलको गेटमा तस्विर समेत खिचे ।

रिचर्ड नेभिलको बायोग्राफीमा, चार्ल्स शोभराज भन्छन्, “जबसम्म मसँग मानिसहरूसँग कुरा गर्ने मौका छ, म तिनीहरूलाई बहकाउन र झुक्याउन सक्छु।”

भनिन्छ कि दश वर्षको जेल सजायको अन्त्यमा, उनी जानाजानी भागेका थिए ताकि उनी फेरि समातिन सकून् र जेलबाट भागेको अभियोगमा उनीमाथि मुद्दा चलाउन सकियोस्।

यसो गर्दा उनी थाइल्याण्ड सुपुर्दगीबाट बच्न सक्थे। थाइल्याण्डमा उनीमाथि पाँचवटा हत्याको अभियोग लगाइएको थियो र उनलाई मृत्युदण्डको सजाय हुने लगभग निश्चित थियो।

सन् १९९७ मा रिहा हुँदासम्म बैंककमा उनीमाथि मुद्दा चलाउने म्याद सकिएको थियो। सन् १९९७ मा भारतले उनलाई फ्रान्स सुपुर्दगी गरेको थियो ।

सन् २००३ मा फेरि चार्ल्स शोभराज नेपाल फर्किए । यसपटक नेपालको प्रहरीले पक्राउ गर्न सक्ने अवस्थामा उनी निडर भएर आए र यसपटक पनि उनले पत्रकारसँग कुरा गरे । तर उनलाई नेपालको राजधानी काठमाडौंको क्यासिनोबाट पक्राउ गरियो ।

नक्कली राहदानीमा यात्रा गरी क्यानाडाली नागरिक र एक अमेरिकी महिलाको हत्या गरेको आरोपमा नेपालले उनीविरुद्ध करिब २८ वर्ष पुरानो मुद्दा फेरि खोलेको थियो ।

शोभराजले आरोप अस्वीकार गरे तर प्रहरीले आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गरेको थियो । सन् २००४ मा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

गत वर्ष अप्रिलमा चार्ल्स शोभराजले नेपालको जेलबाट विदेशी मिडियालाई अन्तर्वार्ता दिएपछि फेरि चर्चामा आएका थिए । प्रश्न उठिरहेको थियो कि जेलमा रहेका कैदीले मिडियासँग कसरी कुरा गरे ?

शोभराजको जेल सजाय र उनको भावी योजनाको बारेमा अन्तर्वार्तामा आधारित रिपोर्टहरू दुई बेलायती पत्रिकाहरूमा प्रकाशित भएका थिए।

कहाँकहाँ गरे अपराध ?

शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।

तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ।

सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे ‘द सर्पेन्ट’ नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो।

भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय ‘सज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिले’ जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले यसअघि बीबीसीसँग बताएका थिए।

भारतमा किन परेका थिए जेल? कसरी भागेका थिए तिहाड जेलबाट?

फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो।

तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।

आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए। त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो।

भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे।

भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए।

थाईल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ।

थाईल्यान्डमा पाँच जनाको हत्या गरेको अभियोगमा फैसला हुँदा उनलाई मृत्युदण्ड पनि हुनसक्थ्यो।

सन् १९९७ मा जेलबाट मुक्त हुँदा थाईल्यान्डमा मुद्दा चल्ने हदम्याद गुज्रिसकेको थियो। जेलबाट छुटेपछि उनलाई फ्रान्स पठाइएको थियो।

त्यसपछि सन् २००३ मा उनी काठमाण्डूमा देखा परे।

सर्वोच्च अदालतले किन मुक्त गर्ने आदेश दियो?

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको” भन्दै रिहा गर्न भनेको छ।

आदेशमा “अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ।

हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ।

नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए।

“हाल उनले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ,” आदेशमा भनिएको छ।

बुधवारको आदेशमा न्यायाधीशद्वयले सर्वोच्च अदालतले २०७५ साल फागुनमा दिइएको आदेशमा रहेको “निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई ठेकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियो” बेहोरा र त्यसपछि २०७९ साल वैशाखमा परेको अर्को रिट निवेदनमा सर्वोच्च अदालतले जारी गरेको परमादेशको सम्बन्धमा कुनै निर्णय पनि नभएको पनि उल्लेख गरिएको छ।

    सम्बन्धित समाचार...