५ जेष्ठ २०८१, शनिबार

सिरहाको अर्नामा गाउँपालिका अध्यक्षको मनोमानी, स्वयंसेवक शिक्षकको नाममा आफन्त भर्ना

IMG20211214134535.jpg

सिरहाको अर्नामा गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिले स्वयंसेवक शिक्षकको नाममा आफन्तलाई जागिर लगाएको पाइएको छ । पालिका अध्यक्ष अशोककुमार यादवसहितका जनप्रतिनिधिले चारवटा विद्यालयमा आठजना स्वयंसेवक शिक्षकको नाममा आफन्तलाई जागिर दिएको पाइएको हो ।

अर्नामा गाउँपालिका ५ स्थित आधारभूत विद्यालय कृष्णपुरमा अध्यक्ष यादवको ठाडो निर्देशनमा दुईजना शिक्षकले गत भदौदेखि काम गरिरहेका छन् । उनीहरुले भदौ र असोज गरी दुई महिनाको तलबसमेत पाइसकेका छन् । तर, विद्यालय र गाउँपालिकाले औपचारिक रुपमा नियुक्तिपत्र दिएको छैन । अध्यक्षको ठाडो निर्देशनमा काममा लगाइएको हो । दुईजनामध्ये एकजना पालिका अध्यक्ष यादवका आफन्त र अर्को वडा अध्यक्षका आफन्त रहेको स्थानीयले बताए।

दुवै जनालाई अध्यक्ष यादवको मौखिक आदेशको भरमा तलब दिएको विद्यालयका प्रधानाध्यापक रोहितकुमार यादवले बताए। उनले भने, ‘गाउँपालिका अध्यक्ष यादवले अहिले काम गर्न दिनुस्, उहाँहरुको सवै प्रक्रिया पूरा भएको कागज पालिकाले पठाउँछ भन्नुभयो, काम गर्न दियौं, दशैंको मुखमा अहिले तलव दिनुस विदापछि कागज पठाउनलाईदिन्छु भन्नु भयो, तलब पनि मौखिक आदेशमा ख्वाएँ ।’

आफू समस्यामा परेको बताउँदै प्रधानाध्यापक यादवले भने, ‘अहिले विद्यालयलाई प्रक्रिया पुर्‍याएर तलब खुवाउन पालिकाबाट जनप्रतिनिधि र कर्मचारीहरु समेतको दवाव आइरहेको छ । विद्यालय व्यव्स्थापन समितिले मानिरहेको छैन । म समस्यामा परेको छु ।’ 

त्यसैगरी, माध्यामिक विद्यालय अर्नमामा, आधारभूत विद्यालय महेशपुर धोक्रे र माध्यामिक विद्यालय कृष्णपुरमा दुई दुई जनाका दरले शिक्षक पालिकाले पठाएको छ । 

विद्यालयमा अपुग भएको शिक्षक पालिकाले पठाएको भने पनि उनीहरुलाई अहिलेसम्म पालिका वा विद्यालय कसैले पनि औपचारिक रुपमा नियुक्ति दिएको छैन । तर, उनीहरुले तलब भने जनप्रतिनिधिको ठाडो आदेशमा प्रतिमहिना २१ हजारका दरले खाइरहेका छन्। 

माध्यामिक विद्यालय अर्नामाका प्रधानाध्यापक मदन यादवले भने, ‘स्वयंसेवक शिक्षक भनेर पालिकाले पठाइदिएको हो । त्यहाँबाट आएको मौखिक आदेशकै भरमा शिक्षकहरुलाई तलव खुवाइरहेको छु ।’

गाउँपालिका शिक्षा शाखा प्रमुख नथुनी साहले नियुक्ति नगरिकन कुनै पनि व्यक्तिलाई तलब सुविधा दिनु भनेको गैरकानुनी भएको बताए। 
‘शिक्षक अभाव रहेको विद्यालयमा न्यूनतम पारिश्रमिक दिनेगरी प्रक्रिया पूरा गरेर शिक्षक राख्न पाउने सुविधा गाउँ पालिकाले दिएको छ । तर, त्यसको लागि सवै प्रक्रिया विद्यालयले पूरा गर्नुपर्छ, त्यसो नगरेको भए भोलि समस्या आउन सक्छ,’ उनले भने, ‘प्रक्रिया पु¥याउने काम प्रधानाध्यापक र विद्यालय व्यवस्थापन.समितिको हो । शाखाले आवश्यक सहयोग गर्छ ।’

पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्द सिंहले पनि शिक्षक राख्ने सम्पूर्ण प्रक्रिया विद्यालयले नै पूरा गर्नुपर्ने बताए । उनले भने, ‘हामीले शिक्षक अभाव भएका विद्यालयका लागि भर्ना गर्न पाउने सुविधामात्रै दिएको हो । सबै निर्णय विद्यालय आफैंले गर्नुपर्छ ।’ 

उनीहरुको तलव भत्ताबापत पालिकाले आन्तरिक स्रोतबाट एकमुष्ट रुपमा अनुदान रकम पठाएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए।
गाउँ कार्यपालिकाले गत जेठमा बसेको बैठकले स्थायी रुपमा शिक्षक पुर्ति नभएसम्म वा शिक्षक स्वयंसेवक भर्ना नभएसम्म विद्यमान यस गाउँ पालिकामा शिक्षक अभावका कारण पठनपाठन हुन नसक्ने कक्षा सन्दर्भमा विद्यालयले गाउँपालिकासँग समन्वय गरी दक्ष, योग्य शिक्षकलाई न्यूनतम पारिश्रमिक प्रतिघण्टी मासिक तीन हजार दिने र अर्को व्यवस्था नभएसम्मको लागि मात्र प्रतिस्पर्धाको आधारमा विद्यालयले खटाउने र निजले गरेको कामकाजको प्रतिवेदन र विद्यालयको सिफासिरसको आधारमा गाउँपालिकाले निकासा दिने निर्णय गरेको छ।

गाउँपालिकासँग समन्वय गरी दक्ष, योग्य शिक्षक न्यूनतम पारिश्रमिक प्रतिघण्टी मासिक तीन हजार दिनेगरी प्रतिस्पर्धाको आधारमा विद्यालयले खटाउने भने पनि आठैजना शिक्षक पालिकाबाट पठाइएको सम्बन्धित् विद्यालयका प्रधानाध्यापकहरुले बताए । 

आधारभूत तहमा भर्ना भएका शिक्षकहरुले ७ घण्टीका दरले २१ हजार तलव बुझेका छन् । पाँच घण्टीमात्र पढाए पनि उनीहरुले ७ घण्टी बराबरको तलव बुझेको प्रधानाध्यापकहरु बताउँछन्।

गाउँपालिका अध्यक्ष अशोक यादवले शिक्षामा सुधारको लागि कानुन वनाएरै शिक्षक भर्ना गरेको बताए । उनले भने, ‘हामीले शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन कानुन बनाएरै जनशक्ति पूरा गर्ने निर्णय गरेका छौं, बाँकी प्रक्रिया विद्यालयले पु¥याउने हो, मैले मौखिक रुपमा राख्न दवाव दिएको छैन । पठाएको पनि छैन ।’

Capture 4
IMG20221220112041.jpg

    सम्बन्धित समाचार...