
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।
राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
बिहीबार र शुक्रबार प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने पूर्वानुमान छ ।
तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।