नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा. शशांक कोइरालाले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई साथ दिने भएका छन् ।
संसदीय दलको नेता को बन्ने भन्नेबारे कांग्रेसभित्र रस्साकस्सी चलिरहेका बेला नेता कोइराला सभापति देउवाको पक्षमा खुलेका हुन् ।
आइतबार कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सहभागी बनेका डा. कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो समर्थन सभापति देउवालाई रहेको प्रतिक्रिया दिए ।
कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्री बन्न पाउने विधान छ । यही कारणले संसदीय दलको नेता को बन्ने भन्नेमा प्रतिस्पर्धा छ । सभापति देउवासँग महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने चुनावअघि नै घोषणा गरिसकेका छन् । त्यस्तै डा. शेखर कोइराला पनि संसदीय दलको नेताका आकांक्षी हुन् ।
आइतबारको बैठकबाट समिति बनाएर संसदीय दलको नेता छनोट प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ ।
यहीवीच राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा २ अनुसार सात दिनभित्र प्रधानमन्त्रीको नाम पेश गर्न आइतबार औपचारिक आह्वान गरिसकेकी छिन् ।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री चयन गर्न संसदीय दलको नेता अनिवार्य छैन, प्रतिनिधिसभा सदस्यमात्रै भए पुग्छ । तर, नेपाली कांग्रेसको संसदीय दलको विधानको दफा ७ को उपदफा १० अनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता अनिवार्य छ । सो उपदफामा ‘पार्टीले सरकार गठन गरेका अवस्थामा नेताका हैसियतमा नेतृत्व प्रदान गर्ने’ भनिएको छ ।