२० बैशाख २०८१, बिहीबार

मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजिनामा दिए

Fernando Santos

मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजिनामा दिएका छन् । अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ । 

पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ६८ वर्षीय प्रशिक्षकको यात्रा सकिएको बताएको छ । उनि सन् २०१४ सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए । 

‘हामी अर्काे प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ संघले भनेको छ । सन् २०२४ युरोको लागि संघले माउरिन्होलाई एक नम्बरमा राखेको छ । अहिले माउरिन्हो सिरी ए क्लब रोमामा आवद्ध छन् । यद्यपि, उनलाई युरोपका ठूला क्लबहरु पोर्टाे, चेल्सी, इन्टर मिलान, रियल मड्रिड र म्यानचेस्टर युनाइटेडले लक्ष्यमा राखेका छन् । 

माउरिन्होले चेल्सीबाट तीन प्रिमियरा लिग, इन्टरबाट दुई सिरी ए र रियलबाट ला लिगा उपाधि जितेका छन् । 

यस अघि दुई खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोष निकै आलोचित भएका थिए । सान्तोष टोलीमा रहँदा पहिलो पटक युरो २०१६ च्याम्पियन रह्यो । उनको प्रशिक्षणमा पोर्चुगलले सन् २०१८ विश्वकप र २०२० को युरो खेलेको थियो ।

फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो । पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए । स्विट्जरल्यान्ड विरुद्ध जित हासिल गरेपनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो ।

Portugal duo Fernando Santos and Cristiano Ronaldo1670737829

यद्दपी सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने जानकारी दिएका थिए । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए ।

‘मेरो सम्झौताको बारेमा अहिले केहि भन्ने अवस्था छैन । अब स्वदेश फर्केर फुटबल संघको अध्यक्षसँग छलफल गरेर उचित निर्णय लिनेछौं । हामीले सन् २०१४ यता पटक पटक छलफल गरेका छौं र राजीनामा दिने भन्ने शब्द कहिले पनि निस्केको छैन,’ उनले भनेका थिए ।

सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताएका थिए । यस्तै उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो पक्षमा नहुनु हारको कारण रहेको बताए ।

‘खेलाडीहरु निकै दुखित छन् । नतिजाले गर्दा निराश छन् । म सम्पूर्ण पोर्चुगल समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । र यो पनि भन्न चाहन्छु कि हामी वहाँहरुभन्दा निराश छौं । हाम्रो टोली निकै राम्रो थियो । उत्कृष्ट खेलाडीको सम्मिश्रणले बनेको टोलीबाट पक्कै बढी अपेक्षा थियो । तर आज यो हारले निकै दुख लागेको छ ।’

‘हामीलाई थाहा थियो खेल कठिन हुनेछ । तर हामीले फिनिस गर्न सकेनौं । हामीले खेलको सुरुवातमा आवश्यकताभन्दा बढी बल चलाएर सफल हुन सकेनौं । हामीले मोरक्कोको डिफेन्सलाई पनि बधाई दिनुपर्छ, उनीहरुले आफ्नो रणनीति पूर्ण प्रयोग गर्न सके ।’

‘हामीले अवसर पनि पाएका थियौं । ब्रुनोको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्य थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन थियो । मोरक्कोको डिफेन्स लाइन ४-५ पटक बिट गरेपनि गोल गर्न सकेनौं । फुटबलमा भाग्यको पनि जरुरत हुन्छ र त्यो आज हामीसँग थिएन । पछिल्लो खेलमा ६ गोल भएको थियो भने आज हाम्रो कुनै प्रयास सफल हुन सकेन ।’

‘हामीले फाइनल पुग्ने मात्र होइन, फाइनल जित्ने पनि लक्ष्य राखेका थियौं । तर अफसोस त्यो हुन सकेन ।’

रोनाल्डो टोलीमा नराख्दा र उनीसँग मिडियामा जोडिएको चर्चाका कारण टोलीलाई कुनै असर नगरेको सान्तोसले बताएका थिए । ‘रोनाल्डोको कारण खेलमा कुनै नराम्रो प्रभाव परेको छैन । हामी एकतृत भएर नै अघि बढेका छौं । आजको हारले सबैभन्दा बढी असर गरेको रोनाल्डो र मलाई नै होला । हामी दुई नै सबैभन्दा बढी दुखि छौं । त्यसैले पनि उनले आफ्नो भावना रोक्न सकेनन् ।’

‘मलाई लाग्दैन आज रोनाल्डो नखेलाएर हामीले गल्ती गर्यौं । मलाई उक्त निर्णयमा कुनै दुख छैन । हामीले खेलको स्थिति हेरेर नै यो निर्णय लिएका हौं । जसरि स्विटजरल्यान्ड विरुद्ध रणनीति सफल देखिएको थियो, आज गोल निस्कन सकेन । मलाई लाग्दैन हाम्रो निर्णय गलत थियो ।’

    सम्बन्धित समाचार...