३ जेष्ठ २०८१, बिहीबार

सङ्घीयता मजबुत बनाउन समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री पोखरेल

krishnachandra

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समन्वय, सहकार्यबाट नै सङ्घीयता मजबुद हुने विश्वास व्यक्त गर्नुभएको छ । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, स्थानीय तथा आमनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्रदेश र जिल्लास्तरीय सुरक्षा प्रमुखहरूको सम्मानमा आयोजित कार्यक्रममा उहाँले स्थानीय र सङ्घीय र प्रदेशस्तरका चुनाव एकै चरणमा सम्पन्न गरेर नेपालले उदाहरण पेस गरेको बताउनुभयो ।

सुरक्षा निकायको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले नवौँ राष्ट्रिय खेलकुद गराउने जिम्मा पोखराले पाएको र त्यसलाई पनि सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार र जिल्लाले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । नागरिकस्तरबाट भएका आन्दोलनबाट प्राप्त व्यवस्थालाई सुदृढ बनाउने जिम्मा  कर्मचारीतन्त्र र सुरक्षा निकायको रहेको बताउँदै उहाँले प्राप्त जिम्मेवारी उत्कृष्टरुपमा कार्यसम्पादन गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सङ्घीयता प्राप्तिपछि नागरिकले अभिमतमार्फत सरकार निर्माणका लागि प्रयोग गरेको यो दोस्रो अवसर हो भन्दै उहाँले लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष नै आवधिक निर्वाचन रहेको उल्लेख गर्नुभयो । सो अवसरमा मुख्यमन्त्रीले नेपाली सेनाको पश्चिम पृतनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखलाई सम्मान गर्नुभयो । त्यस्तै ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखलाई कदरपत्र प्रदान गरिएको थियो । प्रदेश भित्रका सुरक्षा निकायका अन्य कार्यालयका प्रमुखलाई पनि कदरपत्र प्रदान गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले नागरिकको मतदान गर्ने अधिकार प्रयोग गर्न सुरक्षा निकायले सहज वातावरण मिलाएको भन्दै प्रशंसा गर्नुभयो । आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले सीमित स्रोत साधनका बीच पनि सुरक्षा निकायले प्रभावकारी कार्यसम्पादन गरेको बताउनुभयो । प्रदेशसँग समन्वय गरी तीन ठूला राष्ट्रिय महाअभियान सम्पन्न गरेकामा प्रदेश सरकारले सम्मानस्वरुप कदरपत्र प्रदान गरेको उहाँले बताउनुभयो ।

प्रदेश प्रमुख सचिव रवीलाल पन्थले चाडबाडमा समेत बिदा नलिइकन निरन्तर सेवामा खटिएर सुरक्षा निकायले जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रदेश सरकारबाट आवश्यक निर्देशन, सल्लाह, सुझाव प्राप्त भएअनुसार कार्यसम्पादन गर्दै आएको बताउनुभयो । 

    सम्बन्धित समाचार...