१४ बैशाख २०८१, शुक्रबार

कञ्चनपुरका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण, स्वास्थ्य सामग्री अभावले कोरोना संक्रमित भएँ

corona

कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि । अग्रपंत्तिमा रहेका खट्दै आएका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरीफन्टा नाकामा भारतबाट आएका नेपालीहरुको स्वाब संकलनमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

कञ्चनपुरका स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्री अभावका कारण आफू संक्रमित भएको बताएका छन् । गुणस्तरयुक्त प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन पटक पटक माग गरे पनि सरकारले नसुनेको गुनासो उनले गरे ।

‘संक्रमण हुनुको मुख्य कारण भनेको स्वास्थ्य सुरक्षा सामग्री प्रयाप्त नभएर हो । प्रयोग भएका स्वास्थ्य सामग्री पनि कमसल खालका छन् । डब्ल्यूएचओको मापदण्ड अनुसारको नभएको हुनाले संक्रमण भएको हो ।’

संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको जनाइएको छ ।

उनले तीनै तहका सरकारबीच कामको तालमेल नमिल्दा र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताए । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको बताएका छन् ।

आफू प्रयोगशालाकर्मी भएको र प्रयोगशालामा खटिनेहरुलाई सरकारले फरक नजरले हेर्ने गरेको गुनासोसमेत गरे । ‘कसैलाई पनि विभेद गर्नु भएन, समान तरिकाले हेर्नुपर्यो,’ उनले भने, ‘प्रयोगशालाकर्मीलाई एउटा दृष्टिकोणले हेर्ने, चिकित्सकलाई एउटा दृष्टिकोणले हेर्ने, नर्सलाई एउटा दृष्टिकोणले हेर्ने होइन, सबै समान हुन् । पर्दा पछाडिको डाक्टर प्रयोगशालाकर्मी हुन् तर त्यति सम्मानचाहिँ पाइँदैन ।

फ्रन्टलाइनमा काम गर्ने प्रयोगशालाकर्मीहरुलाई प्रयाप्त मात्रामा सुरक्षा सामग्री हुनुपर्यो । फ्रन्टलाइनमा काम गर्ने प्रयोगशालाकर्मीहरुलाई हेर्ने दृष्टिकोण फरक भयो । नगरपालिका पनि त्यस्तै, स्थानीय सरकार पनि त्यस्तै, प्रदेश सरकार पनि त्यस्तै, केन्द्र सरकार पनि त्यस्तै ।

जोखिममा भनेर सबैभन्दा पहिले चिकित्सक, नर्स अनिमात्र प्रयोगशालाकर्मी आउँछन् । तर सबैभन्दा पहिले त प्रयोगशालाकर्मीले रगत, स्वाबको नमूना संकलन गर्छ । सबैभन्दा फ्रन्टलाइनमा र संक्रमणको जोखिममा हामी प्रयोगशालाकर्मी छौं । त्यसमा पनि गुणस्तरहीन पीपीई मास्क लगाउन दिएपछि त हामी संक्रमित भइहाल्छौं ।

हामीले गुणस्तरीय र प्रयाप्त स्वास्थ्य सामग्री चाहियो भनेर पटक पटक माग गरेका थियौं । पीपीईमात्र भएर भएन, त्यसमा एन–९५ मास्क चाहियो, फेस कभर चाहियो, जुत्ता कभर चाहियो, धेरै कुराहरु हुन्छन् । ती धेरै कुराहरु प्रयाप्त भएन ।