५ जेष्ठ २०८१, शनिबार

एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिन्छ : कर्मचारी संगठन

nijamati1670593898

नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ ।

संघीय संसदमा दोस्रो ठूलो दल बनेपनि सरकार निर्माणका लागि अग्रसर हुन संगठनले एमालेलाई सुझाव दिएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुलुकलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन र थप अस्थिरता हुन नदिन एमालेले नेतृत्वको लागि पहलकदमी लिनुपर्ने बताउनुभयो । बहुमत कसैको नआएकाले दोस्रो ठूलो दलको हैसियतले अन्य राजनीतिक दललाई पनि सहमतिमा ल्याएर एमालेले सरकारको नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ ।

रुपन्देहीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष कोइरालाले एमाले र माओवादी एकीकरण भई बनेको नेकपा फुट्दा र पछिल्लो समय एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका कारण पनि निर्वाचनमा ठूलो मूल्य चुकाउनुपरेको भन्दै फेरि एकताको लागि पहल गर्न आग्रह गर्नुभयो ।

एकताका लागि एमाले, माओवादी, समाजवादी सबैले मेरो गोरुको बाह्रै टक्का नभनी सहमतिको बिन्दु पहिल्याउनुपर्ने उहाँको जोड छ । सहमतिको मिलनबिन्दु खोजेर र एकता गरी सरकार निर्माण गरेर मुलुकलाई स्थिरता दिन उहाँले नेताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी एकताको लागि पहलकदमी लिन आग्रह गरेको जानकारी दिनुभयो । फुटको सामान्य असर कर्मचारी संगठनमा पनि परेको भन्दै आ–आफ्नो हठ र जिद्धी छाडेर अघि बढ्ने हो भने एकता फेरि पनि सम्भव रहेको उहाँको जिकिर थियो । मुलुकलाई विकास र स्थिरताको बाटोमा डोर्‍याउनका लागि पनि अव वामपन्थी शक्ति आवश्यक हुने उहाँले बताउनुभयो ।

    सम्बन्धित समाचार...