१४ बैशाख २०८१, शुक्रबार

भारतीयले हानेको ढुंगा लागेर ४ नेपाली घाइते, स्थानीयले बन्द गराए सीमा पुल

Darchula 1670162919

भारतले सीमा नदी महाकालीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको नेपाली नागरिकबाट विरोध भएको छ । भारतीय निर्माण कम्पनीलाई धार परिवर्तन नहुने गरी तटबन्ध निर्माण गर्न स्थानीयले आग्रह गर्दा भारतीयबाट ४ नेपाली घाइते हुने गरी ढुंगा प्रहार भएपछि स्थानीयले सीमा पुल बन्द गरेका छन् ।

सुरुमा नेपाली पक्षबाट ढुंगा हानिएको र त्यसपछि उताबाट पनि ढुंगा प्रहार भएपछि नेपाली घाइते भएका छन् । बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालयनजिक खेलिरहेका स्थानीय १३ वर्षीय प्रेमसिंह कुँवरलगायत चारजना घाइते भएको स्थानीयले जनाएका छन् ।

भारतीय पक्षको ढुंगा प्रहारबाट ४ नेपाली घाइते भएको विरोधमा स्थानीय बासिन्दाले नेपाल-भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आउजाउ बन्द गरिएको छ । आइतबार करिब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि प्रहरी खटिएको छ ।

नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय बासिन्दा आक्रोशित छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउँदै आएका छन् ।

सीमा देखिएको विरोध साम्य गर्न नेपालका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले भारत धारचुलातर्फ छलफलका लागि गएको छ । भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धारचुलाका एसडीएमबीच कुराकानी भएपछि केही समय बन्द भएको पुल खोलिएको छ ।

विगतमा भएका सहमति कार्यान्वयन गर्ने र दुईपक्षीय सहमतिका आधारमा मात्रै निर्माण कार्यअगाडि बढाउने सहमतिपछि पुल खोलिएको प्रजिअ उपाध्यायले बताए ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

    सम्बन्धित समाचार...