१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता: सरकारमा सामेल हुने सहमति

CK Rout PM Sher bahadur

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् ।

‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने ।यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए ।

यस पटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,’ निधिले भने ।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ ।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो । निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।