१२ बैशाख २०८१, बुधबार

पौडेल निवासमा नेताहरुको चहलपहल, शुभकामना साटासाटसँगै प्रधानमन्त्रीको लागि गृहकार्य

Ramchandra Poudel
फाइल फोटो

नेपालाी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा कांग्रेस नेताहरुको चहलपहल बढेको छ। तनहुँ–१ बाट प्रतिनिधिसभाको लागि निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्री बन्नको लागि दौडधुप सुरु गरेका छन् ।

तनहुँबाट काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा पनि उनले आफू प्रधानमन्त्रीको दाबेदार भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । त्यसलगत्तै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

प्रचण्ड र माधव नेपाल दुवै नेतासँगको भेटमा उनले आफू प्रधानमन्त्री बन्न चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । दाहाल र नेपालले पनि पौडेललाई अब प्रधानमन्त्रीको हकदार भएको भन्दै सहयोग गर्ने वचन दिएका थिए । यता, पौडेल निवासमा पनि कांग्रेस नेताहरुको चहलपहल बढेकोछ ।

उनलाई शुभकामना दिनेहरुको भीड लाग्ने गरेको छ । आजमात्रै सुंखुवासभाबाट निर्वाचित कांग्रेस नेता दीपक खड्का पौडेल निवास बोहोराटार पुगेका छन् । कांग्रेसका थुप्रै नेताहरुले पौडेललाई अब एकपटक सरकारको नेतृत्वको लागि अवसर दिनुपर्ने आवाज उठाएका छन् ।