२३ बैशाख २०८१, आईतवार

जसले ‘नबोली’ चुनाव जिते

dip1669474492

रुपन्देही–३ मा मनोनयन दर्तापछि दर्जनौं चुनावी सभा भए। एमालेको समर्थनमा उम्मेदवार बनेका दीपक बोहरा चुनावी अभियानमा सँगसँगै थिए। सेतो पाइजामामा सजिएर मञ्चमा बस्ने बोहरा निर्वाचन अवधिभर भएका चुनावी मञ्चहरूमा एक शब्द पनि बोलेनन्। कारण बोल्नै नमिल्ने स्वास्थ्य अवस्था। चुपचाप बसिरहने बोहोराका चुनावी प्रतिस्पर्धी भने गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृण खाँण थिए।

कडा प्रतिस्पर्धी, बोल्न नमिल्ने स्वास्थ्य बोहराका लागि चुनौती थिए। तै पनि उनी मतदातामाझ नमस्कार गरेर मात्रै फर्किए। मंसिर ४ मा मतदान सम्पन्न भयो। अर्काे दिनबाट मतगणना हुँदा बोहरा र खाँण अघिपछि हुँदैरहे। अन्तिममा चुनावी नतिजा बोहोराको पक्षमा आयो। उनले खाँणलाई २ हजार ६ सय ८१ मतले पराजित गरे। अन्तिममा आएको बोहराको नजिताले रुपन्देहीबाट प्रतिनिधिसभामा कांग्रेसलाई शून्य बनायो। बहालवाला गृहमन्त्री हराउँदा बोहोराको चर्चा चुलियो।

पटक–पटक मन्त्री भइसकेका बोहोरा राजनीतिमा भने चिरपरिचित अनुहार हुन्। खरो भाषण गरी जनता उत्तेजित बनाउने खुबी उनमा छ। पञ्चायतकालदेखि नै सांसद र मन्त्री हुँदै आएका बोहोरालाई जनताले चुपचाप बसे पनि फेरि प्रतिनिधिका रूपमा अनुमोदित गरेका छन्।

बोहरा नबोल्नुको कारण भने उनमा देखिएको कोभिड संक्रमणको असर हो। कोरोना संक्रमित भए पनि उनी लामो समय बिरामी परे। उनको घाटीमा संक्रमण भयो। चिकित्सकले मंसिर १५ गतेसम्मका लागि बोल्नै नहुने बताएपछि उनी चुनाव भाषण नै नगरी कटाए। विहानपख घरमा सामान्य कुराकानी गरे पनि उनलाई दिउँसोमा बोल्न कठिन हुने गरेको थियो। उनले आफ्ना एजेन्डा भने सहयोगीमार्फत जनतामाझ पुर्‍याए।

चुनावी अभियानमा पारिवारिक नेतृत्व लिएर बोहोराकी नातिनी स्वाटी थापा खटिन्। सार्वजनिक प्रशासन विषयमा एमफिल गरेकी स्वाटी भाषणकलामा निपूर्ण थिइन्। थापा राप्रपाको केन्द्रीय सदस्य पनि हुन्। ‘हामीले जनताका एजेन्डालाई गहिरो गरी बुझेर ती एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएका छौं,’ उनले भनिन्, ‘जनताले विश्वास गरेर मतदान गर्नुभएको छ। त्यसलाई निराश हुन दिनेछैनौं।’

बोहराका चुनावी मञ्चमा राप्रपाका नेता निरञ्जन थापा खटिइएका थिए। पूर्वगृह राज्यमन्त्री थापाले भाषण गरेर बोहोराका एजेन्डालाई सुनाएका थिए। एमालेको बलियो संगठन, जसपाको साथ र बोहोराको रैथाने बर्चश्वले उनलाई विजयी बनाएको नेताहरू बताउँछन्। नेकपा एमालेका क्षेत्रीय अध्यक्ष नरबहादुर घर्तीले पार्टी एक ढिक्का हुँदा गठबन्धनको जित सुनिश्चित भएको बताए। अन्‍नपूर्णपोष्टबाट

    सम्बन्धित समाचार...