१६ चैत्र २०८०, शुक्रबार

सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने

nepal parliament building

प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ । सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न नभएकाले अबका नयाँ निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको हो ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि संसद् सचिवालयले संसद् बैठकको तयारी गर्नेछ । सो अवधिमा पनि संसद् भवनको निर्माण कार्य सम्पन्न नहुने देखिएकाले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा नै संसद् बैठक बस्ने भएको हो ।

सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद्को भवन बनाउन १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थियो । सुरुको ठेक्का सम्झौताअनुसार १५ असोज २०७९ मा संसद् भवन तयार भइसक्नुपर्ने थियो ।

कोभिड महामारीसँगै लकडाउन तथा निषेधाज्ञाका कारण निर्माण कार्य प्रभावित बन्न पुग्यो । कोभिडका कारण निर्माणका लागि ६ महिना म्याद थप भएपछि ठेक्का अवधि ३० चैत २०७९ मा पुगेको छ । तर, अहिलेकै अवस्थाअनुसार निर्माण कार्य अघि बढ्ने हो भने सो अवधिमा पनि संघीय संसद्को भवन तयार नहुने देखिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...