१३ बैशाख २०८१, बिहीबार

भट्टराईलाई हराउँदै खोटाङबाट राई विजयी

ramkumar rai pasang

प्रतिनिधिसभाको अन्तिम मतपरिणाम अनुसार खोटाङमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ विजयी भएका छन्। उनले निकटतम प्रतिद्धन्दी एमाले उम्मेदवार बिशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछाडी धकेलेर विजयी भएका हुन्।

मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बिहीबार मुख्य निर्वाचन अधिकृत (जिल्ला अदालत)को कार्यालय ६७ हजार ४०८ मतगणना हुँदा गठबन्धनका उम्मेदवार पासाङले ३१ हजार ३५१ मत पाउँदा एमाले उम्मेदवार भट्टराई २८ हजार ६८२ मतमा खुम्चिएका छन्। २ हजार ९८६ मत बदर भएको छ।

खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा वि.सं. २०२५ वैशाख–१४ गते जन्मिएका पासाङले २०४१ सालबाट राजनीति शुरु गरेका हुन्।
२०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील भएर २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभाषद बनेका पासाङ २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (ख)बाट निर्वाचित भएर १ नं.प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जामन्त्री भईसकेका छन्।

तत्कालीन नेकपा (माले)को विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिक यात्रा शुरु गरेका पासाङ खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा २०४९ देखि ०५८ सालसम्म क्रियाशील थिए। २०६० सालबाट खम्बुवान माओवादीसँग एकीकरण भएपछि पासाङले माओवादीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्।

पार्टी भूमिगत हुँदा खोटाङ, भोजपुर, संखुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हालेका पासाङले करिब ३८ वर्षको राजनीतिक अनुभव बटुलीका छन्। भूमिगत अवस्थामा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागेर घाइतेसमेत भएका पासाङ जिल्लामा निष्ठावान तथा भ्रष्टाचारबिरोधी नेताका रुपमा चिनिन्छन्।

२०६२/०६३ मा सैन्य विभागको बिग्रड कमाण्डरसमेत हुनुभएका पासाङले जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। भर्खरै ढलानको काम सकिएको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल पासाङकै पालामा योजना परेको हो।

पासाङसँग पराजय भोगेका भट्टराई एमालेका प्रमुख सचेतक हुन्। भट्टराईले २०७० सालको दोश्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभामा निर्वचित भएका थिए। २३ कात्तिकमा मनोनयपछि भट्टराईले महागठबन्धनलाई परास्त गर्न बलियो उम्मेदवार खोजी गर्ने क्रममा पाटीले आफुलाई टिकट दिएकाले गठबन्धनलाई परास्त गर्ने बताएका थिए।

नेकपा एमालेलाई संघमा १३८ सिट ल्याएर बहुमतको सरकार निर्माणको प्रयोजनका लागि मेरो उम्मेदवारी हो । त्यसबाट खोटाङका लागि १ सिट थप्नका लागि उम्मेदवारी हो। भट्टराईले भनेका थिए।

यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार राईले १९१४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सर्जु श्रेष्ठले १७६१, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले १४०, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार दिपक मगरले १३१, आमूल परिवर्तन मसिहा पार्टीका उम्मेदवार चन्द्रमणि राईले २०४ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९ मत पाएका छन्।

जिल्लाभर ३५ हजार १८ पुरुष तथा ३२ हजार ३५५ महिला गरी कूल ६७ हजार ३७३ मत खसेको थियो। ७४ हजार ९२७ जना पुरुष मतदाता र ६७ हजार ८३५ जना महिला मतदाता गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता थिए। निर्वाचनका लागि १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द रहेको थियो।