८ बैशाख २०८१, शनिबार

पहिलो पटकमै संसद् बन्न सफल योगेशको २९ वर्षमै संसद् यात्रा

yogesh

प्रतिनिधि सभाको निर्वाचनमा मुस्ताङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । पहिलो पटकमै संसद् बन्न सफल योगेश सम्भवतः प्रतिनिधिसभाकै कान्छो सदस्य हुन् ।

वि.सं. २०५० वैशाख २७ गते जन्मिएका योगेशले नेपालमा पछिल्लो समय राजनीतिप्रति युवाको चासो बढिरहेका बेला सा‌ंसद् बन्न सफल भएका हुन्

कांग्रेस नेतृत्वले मुस्ताङका जिल्ला सभापतिसमेत रहेका रोमीलाई प्रतिनिधिसभा र प्रदेशसभाको टिकट दिएर पठाएको थियो । रोमीले आफैं उम्मेदवार हुन रुची देखाएनन् र छोरालाई टिकट दिए ।

देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचे ।

यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद हुन् । पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति थिए । हाल उनी गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र पराजित प्रेम नातामा साला भेना हुन् । रोमी (योगेशका बुवा) र प्रेम मामा–फूपूका छोरा हुन् ।

प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् । युवा सांसद योगेशले भारतको बैंग्लोरस्थित एलाइन्स पुनमर सिटीबाट स्नातक तहको अध्ययन गरेका छन् । भारतमा फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् ।

मुस्ताङको थासाङ गाउँपालिका चिसापानी निवासी योगेश गौचन राजनीतिसँगै सामाजिक सेवा, कृषि, होटल व्यवसाय र पर्यटन व्यवसायमा समेत सक्रिय छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ । साथै उनले ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् ।

योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चिनसँग कुटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने बताएका छन् । जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेका छन् ।