२ जेष्ठ २०८१, बुधबार

कडा टक्कर पक्का प्रदेशसभामा दुवै गठबन्धनका उम्मेदवारबीच सिराहा–३ मा

Capture 4

आगामी निर्वाचनमा सिराहा–३ को प्रदेशसभा ‘क’ र ‘ख’मा एमाले गठबन्धन र बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अवस्था छ ।

प्रदेशसभा ‘क’मा सत्ता गठबन्धनबाट कांग्रेसका रामसगुन यादव र एमाले गठबन्धनका मनोज सिंह मुख्य प्रतिस्पर्धामा छन् । स्वतन्त्रका सन्तोष यादवले पनि दुवै उम्मेदवारलाई चुनौती दिइरहेको मतदाताहरूको भनाइ छ ।

प्रदेशसभा ‘ख’मा एमाले गठबन्धनका जसपाबाट रेणु यादव, बाम लोकतान्त्रिक गठबन्धनका एकीकृत समाजवादीबाट प्रमोद यादव, जनमत पार्टीबाट संगीतकार ज्ञानु यादव र एमालेका गोपालप्रसाद यादव, डा. प्रविन यादवले स्वतन्त्र ‘बागी’ उम्मेदवारी दिएको छ । स्वतन्त्र उम्मेदवार डा. यादव सिराहा नगरपालिकाका मेयर डा. नविन यादवका भाइ हुन् । डा. प्रविनकुमार यादव र डा. नविनकुमार यादव दुवै सिराहा एमालेका प्रभावशाली नेता स्व. हेमनारायण यादवका छोरा हुन् ।

सिरहा ३ प्रदेशसभा ‘क’ र ‘ख’मा सत्ता गठबन्धन र इतर गठबन्धनसहित स्वतन्त्र उम्मेदवारहरू अहिले जनताको घरदैलोमा छन् । प्रदेशसभामा दुवै गठबन्धन र स्वतन्त्र उम्मेदवारहरू बढी यादव समुदायका भए पनि संगठनको मत स्वतन्त्रतिर नजान सक्ने जानकार बताउँछन् ।  

जसपा र एमालेको आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका नेताले स्वतन्त्र उम्मेदवारी दिएकाले सिरहा–३ प्रदेशसभामा पनि सत्ता गठबन्धन नै बलियो रहेको छ । 
यस क्षेत्रको ४१ वडामा गत स्थानीय निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामका आधारमा एमाले गठबन्धन अगाडी छ । यही कारण उम्मेदवारहरू आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएको छ । 

पाँच दलीय बाम–लोकतान्त्रिक गठबन्धनमा माओवादी, कांगे्रस र एकीकृत समाजवादीको मतान्तर पनि धेरै नरहेको र जसपा गठबन्धनमा देखिएको असन्तुष्टले जित सुनिश्चित रहेको उम्मेदवाहरूको दाबी छ । 

एमाले जसपा गठबन्धनले उत्तर दक्षिणको उम्मेदवार मिलाउन नसकेको र आफ्नै पार्टीभित्र असन्तुष्टि रहेकोले स्थानीय तहको मतलाई आधार मान्न सकिने अवस्था नरहेको जानकारहरू बताउँछन् । एमाले–जसपा गठबन्धनले सिरहा ३ प्रदेशसभा ‘ख’मा सिरहा पालिकाभित्रको उम्मेदवार दिन नसकेकोले पनि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । यो गठबन्धनमा प्रतिनिधि र प्रदेशसभा दुवै उम्मेदवार प्रदेशसभा ‘ख’भन्दा बाहिरका रहेका छन् ।

प्रदेशसभा ‘क’मा भने जसपा पार्टी परित्याग गरि मनोनयन कै दिन एमाले प्रवेश गरेकोलाई उम्मेदवार बनाइएको छ । यही कारण एमाले र जसपा नेता तथा कार्यकर्ताको असन्तुष्टीले प्रदेशसभा ‘क’ कमजोर नै रहेको देखिन्छ । 

सिरहा ३ ‘क’अन्तर्गत गोलबजार नगरपालिकाका १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५ वडा, अर्नमा गाउँपालिकाको १, २ र ३ गरी जम्मा १९ वडा छन् । यस्तै, प्रदेशसभा ‘ख’मा सिरहा नगरपालिकाका २२ वडा गरी ४१ वडा छन् । 

गत स्थानीय तहको मत परिणामलाई आधार मान्दा सत्ता गठबन्धनका वडा अध्यक्षहरूले पाएको मत जम्मा ३४ हजार ५४ छ । जसमध्ये माओवादीले नौं हजार ५७१, कांग्रेसले १८ हजार १६, एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७  प्राप्त गरेका थिए । 

एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खसेको थियो । जसमध्ये एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थिए । दुवै गठबन्धनको मतान्तर धेरै फाराकिलो नरहेको देखिन्छ । बाम लोकतान्त्रिक गठबन्धनभन्दा एमाले जसपा गठबन्धन ७७६ मतले अगाडी देखिन्छ ।

स्थानीय तहको मतको आधारमा प्रतिनिधिसभाका उम्मेदवार लिलानाथ श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार विश्वनाथ साहभन्दा बलियो देखिएका छन् । तर, एमालेभित्रको असन्तुष्टी, बागी उम्मेदवारी, निवर्तमान सांसद श्रेष्ठको ‘एन्टी’ मतका कारण चुनौतीपूर्ण छ । 

गत ३१ भदौमा सिरहा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका गोपाल यादव र सिराहाका नगरप्रमुख नवीनकुमार यादवको भाई प्रवीनकुमार यादवले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले पनि एमाले गठबन्धनलाई ठाडो चुनौती थपिएको छ ।

०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट श्रेष्ठ निर्वाचित भएका थिए । यस क्षेत्रमा सात पार्टीका १४ स्वतन्त्रसहित २१ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।